काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उर्जाको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छन् । उर्जा उत्पादन सुरु भएको एक सय सात वर्षको इतिहासमा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै राष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् ।
शुक्रबार हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उर्जाको विकास नभएकाले समग्र मुलुकको विकास अपेक्षित हुन नसकेको बताएकी हुन् । उनले पर्याप्त जालस्रोतको अधिकतम सदुपयोग गर्दै उर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गरेकी छन् । हाइड्रो एक्स्पोले उर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरि समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ ।
नेपालमा पहिलो पटक आयोजना भएको अन्तरौष्ट्रियस्तरको हाइड्रो एक्स्पोलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचक उर्जा खपत भए पनि अवस्था निराशाजनक भएको बताइन् ।
जलविद्युतको विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रकृया सहज बनाउन उनले सरकारसँग आग्रह गरिन् । नवीकरणीय उर्जाको विकासलाई उत्तिकै प्राथमिकतामा राख्नु पर्ने बताएकी राणाले निजी क्षेत्र जलविद्युत विकासमा प्रतिबद्ध रहेको बताइकी थिइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी श्रृजना गर्न उर्जा विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए । उर्जा विकासबाट तिब्र औधोगिकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उनको भनाई थियो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोलाई सम्बोधनगर्दै इपानका अध्यक्ष गुरागाईले राजनितिक दल, सरकार र सम्बन्ध पक्षले उर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । उर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्ष्यक्ष गुरागाईको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको भनाई छ । यसले विभिन्न मुलुकसँग उर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर श्रृजना गर्दै उर्जा विकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाई छ ।
पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहेका छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता छ ।
प्रतिक्रिया