काठमाडौं । दुई बटा बाणिज्य बैंकहरुले छुट्टाछुट्टै जारी गर्न लागेको २ अर्व रुपैयाँ बराबरको म्युचुअल फण्डका लागि आजबाट आवेदन खुल्ला भएको छ । एनआइसी एशिया बैंकले प्रवद्र्धन गरेको एनआइसी एशिया क्यापिटलले ‘एनआइसी एशिया ग्रोथ फण्ड’ र सिटिजन्स बैंकको सहायक कम्पनी सिबीआइएल क्यापिटलले ‘सिटिजन्स म्युचुुअल फण्ड १’ गरी २ अर्ब बढीका इकाई निश्कासन गर्न लागेका हुन् ।
७ वर्षे बन्दमुखी स्किम एनआइसी एशिया ग्रोथले १० रुपैयाँ अंकित १० करोड इकाईका लागि आवेदन मागेको हो । यसका लागि सर्वसाधारणले माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म पनि पर्याप्त आवेदन नपरे ढिलोमा माघ २१ गतेसम्मका आवेदन लिने समय कम्पनीले बढाउन सक्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् ।
निश्कासित कुल इकाईमध्ये एककरोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको हो । यसमा आश्वा प्रणालीमा आवद्ध सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
यसैगरी सिटिजन्स म्युचुुअल फण्ड १ ले समेत १० रुपैयाँ अंकित १ अर्ब बराबरको १० करोड इकाई निश्कासनका लागि आवेदन मागेको हो । यसका लागि लगानीकर्ताले माघ ७ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । सो अवधिमा मागजति आवेदन नपरे ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन म्याद बढाउनेछ ।
कुल निश्कासन हुने १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईको सार्वजनिक निश्कासन गरिएको बताइएको छ ।
यसमा आश्वा प्रणालीमा आवद्ध सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
सेयर बजारमा राम्रो ज्ञान नभएका र कम जोखिम लिन चाहाने लगानीकर्ताका लागि सामूहिक लगानीकोष(म्युचुअल फण्ड) राम्रो लगानी क्षेत्र मानिन्छ ।
प्रतिक्रिया