कठमाडौँ । सरकारले अस्थायी राजधानी तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकलेसात प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।
राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समिति गठन गरेको थियो । त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको थियो ।
समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरुमा प्रदेश नम्बर २, ४ र ६ थियो । समितिले प्रदेशको राजधानी तोक्न भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुगमता, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व र सुरक्षाको व्यवस्थालाई मापदण्ड तोकेको थियो ।
प्रदेश नम्बर १ मा धनकुटा र इटहरी विकल्पमा थियो । प्रदेश नम्बर ३ मा केन्द्रको राजधानी काठमाडौँ बाहेक बनेपा, धुलिखेल विकल्पमा थियो । प्रदेश नम्बर ५ मा तुल्सीपुर, दाङ र बुटवल विकल्पमा थियो भने प्रदेश नम्बर ७ मा धनगढी र दिपायल विकल्पमा थियो ।
प्रदेश राजधानीको अन्तिम टुङ्गो भने सम्बन्धित प्रदेश सभाको दुई तिहाई बहुमतले लगाउने प्रावधान संविधानमा छ ।
को को भए प्रदेश प्रमूख
त्यसैगरी मन्त्रीपरिषद्को बैठकलेसात प्रदेशका प्रदेश प्रमुखहरु पनि तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका हुन् ।
प्रदेश प्रमुखको घोषणासँगै अब प्रदेश सभाको निर्वाचन परिणामको औपचारिक घोषणा गर्ने र त्यसपछि राष्ट्रिय सभाको निर्वाचनका लागि बाटो खुल्नेछ । निर्वाचन आयोगले यसै प्रयोजनका लागि प्रदेश प्रमुख छिटो तोक्नुपर्ने बताउँदै आएको थियो । आयोगले प्रदेश प्रमुखलाई प्रदेशको निर्वाचन परिणाम बुझाउनु पर्ने प्रावधान छ ।
के छ सुविधा?
प्रदेश प्रमुखले मासिक १ लाख ४ हजार रुपैयाँ तलब पाउँछन् जसमध्ये ४० हजार रुपैयाँ अतिथि सत्कार र भैपरी खर्च हुनेछ । संविधानले देशका सात प्रदेशमा केन्द्रमा राष्ट्रपति सरहको अधिकार दिएर प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ ।
अतिथि सत्कार र भैपरी खर्चका रुपमा उपलब्ध गराइने ४० हजार रुपैयाँको बिल भरपाइ पेश गर्नु नपर्ने व्यवस्था छ । पारिश्रमिकको रुपमा छुट्टै प्राप्त हुने भने ६४ हजार रुपैयाँ हो । यसबाहेक वर्षमा १८ हजार रुपैयाँ पोशाक सुविधा पनि उपलब्ध हुनेछ ।
प्रदेश प्रमुखले स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार भत्ता पाउने छन् भने विदेशमा भ्रमण गर्दा दैनिक २५० अमेरिकी डलर पाउने छन् ।
युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमण गर्दा ३३ प्रतिशत थप रकम दिने व्यवस्था ऐनमा छ ।
प्रमुखको नियुक्ति राष्ट्रपतिले गर्ने प्रावधान संविधानमा राखिएको छ।
प्रतिक्रिया