काठमाडौं । रसुवागढी जलविद्युत आयोजना र साञ्जेन जलविद्युत आयोजनाले आउँदो फागुन ११ गतेदेखि पहिलो चरणको सेयर निष्काशन गर्ने भएको छ । ति कम्पनीले पहिलो चरणमासञ्चयकोषका संचयकर्ताको लागि २ अर्ब २० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्ने भएका हुन् ।
रसुवागढी जलविद्युत आयोजनामा २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति २०७४ पुस २० सम्ममा थप भएका संचयकर्ताले र साञ्जेन जलविद्युत आयोजनामा २०६८ मंसिर २२ गतेदेखि २०७४ मंसिर २६ गतेसम्म कायम भएका संचयकर्ताले आवेदन दिन पाउने छन् ।
दुवै कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी संचयकर्ताले न्युनतम ५० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिन पाउने जानकारी दिएका छन् ।
दोस्रो चरणमा दुवै कम्पनीले चैत ५ देखि १३ गतेसम्म कम्पनीका संस्थापक, संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारी र सञ्चयकोषका कर्मचारीहरुले साधारण सेयरमा आवेदन दिन पाउनेछन् । संस्थापक संस्थाहरुमा नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाको स्थानीय निकायका कर्मचारीहरु रहेका छन् । उनीहरुलाई रसुवागढीले २३ करोड ९४ लाख रुपैयाँको सेयर छुट्याएको छ भने साञ्जेनले १६ करोड ४२ लाख रुपैयाँको सेयर छुट्याएको छ ।
रसुवागढीको सेयरमा कर्मचारी संचय कोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि २५०० कित्तासम्मको लागि आवेदन दिन पाउनेछन् । त्यस्तै साञ्जेनको लागि कोषका कर्मचारीले न्युनतम ५० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन पाउनेछन् । ति कम्पनीको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धको रुपमा नागरिक लगानी कोष रहेको छ । साधारण सेयरका आवेदकले सिआश्वाबाट आवेदन दिनुपर्ने छ ।
सान्जेल जलविद्युत कम्पनीका प्रमूख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हालसम्म माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको जानकारी दिए । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढिउनु पर्ने रहेकोले उक्त प्रशारण लाईन निर्माण हुने अबधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण कार्य अगाडी बढाईएको उनले जानकारी दिए ।
कम्पनीले निष्काशन गर्न लागेको सेयरमा एक भन्दा धेरै समूहमा योग्य भए पनि एउटा मात्रै समूहबाट आवेदन दिन पाइने छ । अनलाइन प्रणाली भए पनि तोकिएका व्यक्तिले मात्रै आवेदन दिन पाउने हुँदा आवेदकले आफ्नो परिचयपत्र बोकेर तोकिएको स्थानमा जानुपने प्रावधान रहेको छ ।
प्रतिक्रिया