काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमा कालो धन नभएको दावी गरेका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तरक्रियामा बोल्दै उनले कालो धनले कुनै पनि देश चल्न नसक्ने र सहकारीमा कालो धन नभएको दाबी गरे ।
कालो धन खुट्टामा जन्जिर लगाएजस्तै भएको बताउदै अध्यक्ष बडालले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद, हतियारधारीहरुको पैसा नभएको स्पष्ट पारे । ‘सहकारीमा सम्पत्ति सुद्धिकरण लागू हुनु आपत्तिजक विषय होइन’ उनले भने, ‘सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोबार हुने गरेको छ ।’ सम्पत्ति सुद्धिकरण सहकारीलाई दण्ड दिने भन्दा पनि स्वच्छ र व्यवस्थित बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी संशकित हुनुभन्दा पनि थप व्यवस्थित गर्न लाग्नुपर्ने बताए । सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका कार्यान्वयनमा चुनौती भएपनि सरोकारवाला निकाय सबैको समन्वयमा सहजै कार्यान्वयन गर्न सकिने उनले भनाई थियो । निर्देशिकाले सहकारीलाई डकुमेन्टेसन गर्न वाध्य बनाएको र यसले सहकारी व्यवस्थित बन्न सघाउ पुग्ने नेपालको दाबी थियो ।
‘दश वर्षसम्म सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण ऐन लागू नहुनु दुःखद् कुरा हो’ नेपालले भने, ‘सहकारीलाई सही बाटोमा हिँडाउन निर्देशिकाले अभिप्रेरित गर्नेछ ।’ राष्ट्र बैंकअन्र्तगत वित्तीय इकाई भएपनि मनी लाउन्डरिङको रिपोर्ट लिने माध्यम मात्र भएको र इकाईमा गभर्नरको समेत कुनै अधिकार र जिम्मेवारी नहुने उनले स्पष्ट पारे ।
सहकारीमा अनुगमन प्रभावकारी हुन नसकेको प्रति उनको चिन्ता थियो ।
कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा सम्पत्ति सुद्धिकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभुन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न आग्रह गरे । ‘सहकारीमा स्वच्छ कारोबार भइरहेको छ भन्ने सन्देश दिनका लागि पनि निर्देशिका कार्यान्वयनमा जानुको विकल्प छैन’ उनले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले काठमाडौंका सहकारीमा तुलनात्मकरुपमा बढी विकृती भएको बताउदै निर्देशिका काठमाडौंका सहकारीमा पूर्ण रुपमा कार्यान्वयन गर्न सके देशभरी नै लागू हुन सहज हुने बताए । सम्पत्ति सुद्धिकरण शिक्षा देशभरका सहकारीमा लागु गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया