सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सबै शिक्षकलाई प्रोत्साहन स्वरुप तलबमा मासिक सय रुपैंया थप गरेर दिने भएको छ । शिक्षण पेशालाई विशिष्ट रुपमा स्विकार गर्दै पछि श्रोत बढेपछि वृद्धि गर्दै लैजाने गरी पालिका भरीका सबै शिक्षकको तलबमा थप गरिएको हो ।
यस्तै महिला शिक्षक सुत्केरी हुँदा दुई सन्तान सम्मका लागि एक सय दिन सुत्केरी विदा दिईने ब्यवस्था मिलाईने भएको छ । उक्त विदाका बखत गाउँ शिक्षा समितिले सम्बन्धित विद्यालयमा वैकल्पिक शिक्षकको व्यवस्था गर्ने तय गरिएको छ ।
गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि सर्वपक्षीय रचनात्मक सुझाव ग्रहण गर्न भन्दै सोमबार आयोजित जुगल शैक्षिक सम्मेलनबाट जारी घोषणा पत्रमा उक्त प्रतिवद्धता ब्यक्त गरिएको हो । शिक्षाका सवालमा शिक्षक महत्वपूर्ण पक्ष भएकोले उनीहरुको सम्मानका लागि पालिकाले प्रयास गरेको अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
शिक्षक, विद्यार्थी, अभिभावक, ब्यवस्थापन समितिका पदाधिकारी लगायत शिक्षाका सरोकारवालाहरु सहभागी उक्त सम्मेलनबाट १० बुँदै घोषणा पत्र जारी गर्दै कार्यान्वयनका लागि सबैको एक्यवद्धता रहने प्रतिवद्धता ब्यक्त गरिएको छ । ‘शिक्षकलाई समाजको सम्मानित वर्गको रुपमा लिईने सामाजिक मानक स्थापित गरिने छ ।
शिक्षकलाइ गरिने श्रद्धाभावमा गुणत्मक वृद्धि गरिनेछ । शिक्षकहरु समाजको विशिष्ठ ब्यक्ति हुन् भन्ने भाव दर्शाउने गरी सामाजिक रुपान्तरण अभियानमा शिक्षकहरु लाग्नेछन्’ घोषणापत्रमा भनिएको छ, ‘शिक्षण पेशामा लगनशील, कतृब्यनिष्ठ, समयानुकल, सिर्जनशील भई आआफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्दै शैक्षिक समृद्धिको अभियन्ता बन्न हामी सबै शिक्षक प्रतिवद्ध छौं ।’ पालिका भित्रका ४५ सामुदायिक विद्यालयमा १ सय ६७ शिक्षक कार्यरत छन् ।
उक्त ब्यवस्था सबै शिक्षकलाई लागू हुने श्रेष्ठले बताए । पालिका भित्रका विद्यालयलाई लैगिक, बाल, अपागंमैत्री बनाउँदै शान्ति क्षेत्रको रुपमा स्थापित गर्ने, पुस्तकालय, सूचना प्रविधि, विभिन्न शैक्षिक प्रयोगशाला, स्वच्छ खानेपानी, छात्राममैत्री शौचालय, प्रामिक उपचार र सरसफाइ ब्यवस्थापन जस्ता विद्यालयलाई आवश्यक न्यूनतम पूर्वाधारका लागि आवश्यक ब्यवस्था मिलाउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
विद्यालयमा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नदिने, विद्यालय जाने उमेरका सबै बालबालिकालाई भर्ना गर्ने र भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न सबै सरोकारवाला प्रतिवद्ध भएको बुँदा पनि घोषणापत्रमा समेटिएको छ । विद्यार्थीले विद्यालय आवत जावत गर्ने क्रममा भौगोलिक कठिनाई तथा असुरक्षा रोक्ने, सम्मेलनले उठाएका विभिन्न पक्षमा निर्माण हुने आचार संहिता पालन गर्न जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा ब्यवस्थापन समितिका सदस्य प्रतिवद्ध हुने समेत उक्त घोषणापत्रमा उल्लेख छ ।
संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तह मातहत गरे सँगै जुगल गाउँपालिकाले आफ्नो अधिकार कार्यान्वयन शुरु गरेको थियो । शिक्षामा हस्तक्षेप नगर्न भन्दै उक्त गाउँपालिकाले आठ महिना अघिनै जिशिकालाई सचेत गराएको थियो ।
सबै सरोकारवाला दत्तचित्त भएर लाग्यौं भने सार्वजनिक शिक्षाको गुणस्तर कायम गर्न र गाउँपालिकामा शिक्षामा देखिएको समस्यालाई हल गर्न सकिन्छ भत्रे विश्वास पलाएको श्रेष्ठले बताए । ‘कामलाई प्रोत्साहन नकामलाई दुरुत्साहनको नीति अवलम्बन गरी स्थानीय स्रोत परिचालन गर्दै जीवनोपयोगी, व्यावहारिक, सीपमूलक शिक्षा दिलाउनु आजको आवश्यकता हो’ सम्मेलन गर्नुको उद्धेश्यमा भनिएको छ, ‘श्रम प्रति आस्था भाव राख्ने र जीवनप्रति आशावादी बत्र सकियो भने मात्रै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्न सकिन्छ ।
गरीबी, बेरोजगारी र भोकमरी शिक्षाको अश्त्रले मात्रै निर्मूल गर्न सक्दछ । सबै खाले विकास जनशक्ति विकासबाट मात्र सम्भव छ । जनशक्ति विकासका लागि शिक्षा विकास अनिवार्य शर्त हो ।’ यसका लागि शिक्षाका सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर आयोजना गरिएको सम्मेलनले थप मार्ग चित्र प्रदान गरेको श्रेष्ठले बताए । शिक्षाविद्हरु प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. मनप्रसाद वाग्ले लगायत शिक्षाविद्हरु समेत सम्मेलनमा सहभागि थिए । सम्मेलनमा विभिन्न विषयगत कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया