काठमाडौं । सरकारले थप ३ वर्षका लागि नेपाल अल्पविकसित देशको सूचीमै रहने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीको प्रति व्यक्ति आम्दानीमा अझै सुधार नभएकोले संयुक्त राष्ट्र संघको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।
विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुनका लागि आवश्यक पर्ने तीनवटा मध्ये दुईवटा सूचकाङ्कमा नेपालले प्रगति गरेको भन्दै राष्ट्र संघले नेपाललाई स्तरोन्नति हुनका लागि आग्रह गरेको थियो । संयुक्त राष्ट्र संघले आउने मार्च महिनामा अति कम विकसित राष्ट्रहरूको समीक्षा गरेर ती देशहरुको स्तरका बारेमा निर्णय गर्ने तयारी गरिरहँदा सरकारले यस्तो निर्णय गरेको हो ।
विकासोन्मुख राष्ट्रको दर्जामा उक्लनका लागि शर्त मानिएका प्रति व्यक्ति आय, मानवीय संशाधनको विकास र आर्थिक जोखिमको अवस्था मध्ये दुईवटा सूचकाङ्कमा नेपालले आवश्यक प्रगति गरिसकेको भन्दै राष्ट्र संघले स्तरोन्नतिका लागि आग्रह गरेको थियो।
तर सरकारले मुख्य सूचक आय स्तरमा सुधार नभएकाले अल्पविकसित देशको सूचीमै रहिरहने निर्णय गरेको बताएको छ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले भने “प्रति व्यक्ति आम्दानी १२ सय ४२ डलर हुनुपर्ने हो। तर अहिले हाम्रो ८ सय डलरमात्र पुगेको छ। त्यसैले अझै विकास गरेपछि मात्रै विकासोन्मुख राष्ट्रको सूचीमा उक्लनुपर्छ। त्यसैले अहिले अल्पविकसित देशको सूचीमै रहन्छौं।“
प्रतिक्रिया