तपाईले पदभारी ग्रहण गरेलगत्तै मन्त्रालयका अधिकारीले वर्तमान स्थितीको विवरण दिदा अर्थतन्त्रमा चूनौति नै चूनौति रहेको विवरण दिएका थिए । चूनौतिलाई कसरी लिनुभएको छ ?
चूनौति सामना गर्ने आट, अठोट र दृष्टिकोण भएकै कारणले मैले जिम्मेवारी पाएको हो । हाम्रा समस्या हामी आफैले सिर्जना गरेका हौं ।अहिले हामीलाई भूकम्पको आरोप पनि लगाउनु छैन । नाकावन्दी भयो भनेर पनि क्षमा पाउदैनौं । अन्तर्राष्ट्रिय आर्थिक संकट भयो भनेर पनि पार पाउदैनौं । हाम्रो वित्तीय अराजकता, दुरदृष्टिको अभावका कारण समस्या सिर्जना भएको छ । त्यसलाई अब हामीले व्यवस्थित गर्नुपर्छ । तत्कालै एकैदिन वा केही महिनामा हुने कुरा होइन, छिट्टै अनुशासित र अग्रगामी आर्थीक संरचना निर्माण गछौं ।
राजश्व कमी भएपछि कर्मचारीलाई तलब खुवाउन पनि आन्तरिक ऋण लिनुपर्ने बाध्यता भएको वताइएको छ । यस्तो तालले कति समय अर्थतन्त्र धानिएला ?
राजश्व कमी भएपनि लक्ष्यभन्दा बढी उठाउन सक्छौं । आजै सबै भन्सार अधिकृतलाई निर्देशन जारी गरिसकेका छौं । भन्सारमा कारोबार मूल्यलाई प्रतिविम्बित गरेर भन्सार कटाउने, बस्तुको कोड, विवरण, मूल्य, परिमाण फरक पारेर कुनै बहानामा कुनै कर्मचारीले तलमाथी गर्न खोजे उ कारवाहीको दायरामा आउछ । त्यसको अनुगमन पनि हुन्छ ।
लामो समयदेखि बैंकहरुमा कर्जा समस्या रहेको छ । यसको समाधान आउला ?
यो समस्या हामी आफैले गिजोलेका हौं । अघिल्लो वर्ष नै हामीले पुँजी बढाएपछि बैंकहरुले धेरै कर्जा प्रवाह गर्नुपर्र्यो । ३१ प्रतिशत कर्जा बढ्यो । पोहोर साल ठूला ठूला आयोजनामा कर्जा प्रवाह भयो । अहिले बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । हामीले विवेक पुर्र्याएको भए यो समस्या आउने थिएन । यद्यति विकासको क्रममा अघि बढ्दा थप पुँजी परिचालन गर्नुपर्छ । आन्तरिक पुँजीले मात्रै, निक्षेप बढी परिचालन गरेर वा रेमिट्यान्स बढी ल्याएर समस्या समाधान हुदैन ।
अन्तर्राष्टिय बजारबाट पनि विस्तारै पुँजी प्रवेश गराएर यो समस्या समाधान गर्न सक्छौं । दोस्रो कुरा जति पुँजी परिचालन गछौं फेरी त्यहि घरजग्गा, अटोमोवाईल उपभोगमा खर्च गर्र्यो भने केही फरक पर्दैन । पुँजी परिचालन गर्दा गुणात्मक पक्षलाई पनि ध्यान दिनुपर्छ । हामीले प्राथमिकतामा राखेको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।
तपाई गर्भनर हुँदा घरजग्गालाई अनुत्पादक क्षेत्र भनेर कडाइ गर्नुभयो । अहिले पनि बैंकहरु घरजग्गामै केन्द्रीत छन् । तपाई अर्थमन्त्री भएपछि यसमा कडाइ गर्नुहुन्छ भन्ने आशंका छ नि ?
यो राष्ट्र बैंकको दायराको विषय भएकाले उसैले हेर्छ । हामीसँग सिमित स्रोत साधन भएकाले यसलाई आय र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्नुपर्छ । १० रुपैयाँ खर्च गर्दा १५ रुपैयाँ पनि आम्दानी नहुँने क्षेत्रमा हामीले लगानी बढाउनु हुन्न भन्ने मान्यता हो । त्यसैले कुनै क्षेत्र विषेशमा कडाइ गर्ने भन्दापनि अर्थतन्त्रको सिमित साधनलाई उत्पादक क्षेत्रमा लगानी गर्नुपर्छ ।
तपाई विगतमा जथाभावी खर्च गर्ने प्रवित्तीको विरोधी हुनुहुथ्यो । बाम सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा गरेको छ । यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
सामाजिक सुरक्षामा गरिने खर्च अनावश्यक र अनुत्पादक होइन । अर्थतन्त्रले धान्न सके सबै नागरिकलाई सर्वकालिक सामाजिक सूरक्षाको दायरामा ल्याउनुपर्छ ।
प्रतिक्रिया