वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पुरा गरेरै छाड्छः प्रधानमन्त्री

अर्थटुडे
२०७४ चैत्र २९, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राजनीतिक स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरे ।

व्यावसायिक क्षेत्रले सरकारको भावना बुझेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने विश्वास पनि व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघ औद्योगिक प्रवद्र्धनमा लागेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा समृद्धि प्राप्तिको लागि सरकार र नीजि क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, “हरेक क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्छ । कृषि, वन एवं देशमा उपलब्ध साधन र स्रोतलाई इन्नोभेटिभ तवरले आगाडि बढाउनुपर्छ, त्यसका लागि सरकार निजी क्षेत्रलाई सघाउन तयार छ ।”

देशको अर्थतन्त्रलाई चौतर्फी ढंगबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो पुस्ताको प्रविधिमा आधारित भएर मुलुकको औद्योगिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने सुझाव दिए । उनले विश्वव्यापी स्तरमा नेपालले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “सन् २०२२ सम्ममा विकासशील मुलुक र सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्नैपर्छ । त्यसमा सकिएन भन्ने छुट हुने छैन ।”

सरकारले आर्थिक नीति तय गर्दा उद्योग वाणिज्य क्षेत्रसँग परामर्श गरेर अगाडि बढ्ने र उद्योग वाणिज्य क्षेत्रलाई यथोचित सहयोग गर्न आवश्यक पर्ने ऐन, प्रशासनिक एवं व्यावहारिक पक्ष सबैमा सुधार गर्न सरकार तयार रहेको समेत प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ऊर्जा विकास, एकद्वार प्रणाली लागू, पुराना कानुन संशोधन तथा खारेजी, व्याजदरमा सुनिश्चितता र दोहोरो कर तिर्न नपर्ने व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ