काठमाडौं । चर्चित रेष्टुरेन्ट बाजेको सेकुवा ३३ किलो सुन तस्करी काण्डमा तानिएको छ । सो काण्डमा नेपाल प्रहरीले सञ्चालक चेतन भण्डारीमाथि छानविन अघि बनाएको छ । प्रहरीले उनको सम्पत्ति र बैंक खाता रोक्का राख्न समेत सम्बन्धित निकायलाई पत्रचार समेत गरेको छ । भण्डारी माथि सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले छानविन सुरु गरेको हो ।
सुन प्रकरणका नाइके चुणामणि उप्रेति “गोरे” । रहेको प्रहरीको भनाइ रहेको छ । गोरे भण्डारीको आफन्त समेत रहेको प्रहरीको दावी छ । भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । भण्डारी नाताले उप्रेतीका भान्जा हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन अहिलेसम्म प्रहरीले पनि भेट्न सकेको छैन । सुन कोसँग कहाँ छ अनुसन्धानमै छ । तर, यही सुन तस्करीको अनुसन्धानका क्रममा तीन जनाको ज्यान गइसकेको छ ।
सुन भरिया सनम शाक्यको मोरङमा हत्या भइसकेको छ, भने अन्य दुई जनाले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार सो सुन तस्करीमा प्रहरी अफिसरहरुकै संलग्नता रहेको शंका गरिएको छ । यही सुन तस्करी काण्डमा काठमाडौं न्यूरोडका सुन पसलका सञ्चालकहरु पनि पक्राउ परेका छन् । विगत पाँच बर्षदेखि विमानस्थलका कर्मचारीदेखि सुन व्यापारीसम्मको सेटिङमा सुन तस्करी हुने गरेको प्रहरीले जानकारी दिएको छ ।
सुन तस्करी काण्डमा गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ । सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने विशिष्ट श्रेणीका मानिसहरु समेत संलग्न भएको प्रहरीको शंका रहेको छ ।
प्रहरीका अनुसार सोही सुन तस्करीमा थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरी हिरासतमा आत्महत्या गर्ने दुईजना प्रेमलाल चौधरी र सानु बम नेपाल एयरलाइन्सका कामदार थिए ।
गत माघमा तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा हराएको थियो । सुन लुकाउनेहरुसँग मिलेको आशंकामा एक जना सुन तस्करीकै समूहका सनम शाक्यको हत्या भएको थियो ।
शाक्यको लाशलाई चारकोशे झाँडीमा शव लुकाउन लैजाँदै गर्दा फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रै शव बरामद गरी मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो । हत्या गरिएका शाक्य सोही समूहमा एकाउन्टेन्टका रुपमा कार्यरत थिए ।
घटनामा संलग्न राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि पक्राउ परिसकेका छन् । त्यस्तै सोही घटनामा प्रहरीले भारतीय व्यापारी महावीर गोल्यान सहित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परिसकेका छन् ।
त्यस्तैगरी प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीमा संलग्न रहेको भन्दै बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती लगायत २० जनाको बैंक खाता तथा सम्पती रोक्का राखेको छ ।
प्रतिक्रिया