काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा जेठ २४ र २५ गते साकोस शिखर गोष्ठी हुने भएको छ । नेफ्स्कुनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गोष्ठीको तयारी पूरा भएको जनाएको छ । ‘समावेशी आर्थिक विकास : साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्सरचना’ भन्ने मूल नाराका साथ गोष्ठीको आयोजना हुन लागेको हो ।
नेफ्स्कुनले देशभरका बचत सहकारीको एकरुपता प्रणालीमा जोड दिदैँ तेस्रो साकोस शिखर गोष्ठी गर्न थालेको हो । गोष्ठीले साकोसका उपलब्धिको साझा मञ्चहरुको विकास गर्ने, आवश्यक ज्ञान, सीप र प्रविधिको हस्तान्तरण तथा अबलम्बन गर्ने, साकोसमा उच्चतम प्रविधि र औजारहरुको विकास गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सो अवसरमा बोल्दै साकोस शिखर गोष्ठी–२०७५ का संयोजक परितोष पौड्यालले गोष्ठीले जोखिममा आधारित अनुगमन, एकीकरण र अभियानको सुरक्षाका लागि स्थिरीकरण कोषका बारेमा बृहत कार्ययोजना तयार पार्ने जानकारी दिए ।
नेफ्स्कूनका अध्यक्ष डीबि बस्नेतले पहिलो र दोस्रो गोष्ठीको करिब ९० प्रतिशत एजेन्डा पूरा भएको बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीकृष्ण मैनालीले बैंक तथा वित्तीय संस्थाले भन्दा पनि सहकारीले रचनात्मक काम गरेको बताए ।
गोष्ठीमा साकोस अभियानको उपलब्धि : एकरुपता प्रणाली र व्यवस्थापन, वित्तीय सकारीहरुमा जोखिम सुपरीवेक्षण : आन्तरिक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास, समावेशी आर्थिक विकास : वित्तीय शिक्षा, पहुँच अभिवृद्वि र अवसरहरु विषयमा कार्यपत्र प्रस्तुत हुने छ । त्यस्तै नयाँ सहकारी ऐन : सहकारीको प्रवद्र्वन, नियमन र क्षमता विकासका तहगत व्यवस्था, वित्तीय सहकारीमा स्थिरीकरण कोष : सुरक्षित अभियानको कल्पना, प्रविधि र पहुँच : सहकारीका लागि भरपर्दो वित्त, समग्र विकासमा सहकार्य र योगदान : दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी, साकोस एकीकरण : अवसर र अभियानको आवश्यकता, सहकारीमार्फत उत्पादन, बजारीकरण र प्रतिष्पर्धी स्थानको अवधारणा : सम्भावना र चुनौती, सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन : सम्भावना र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया