काठमाडौं । नेपालले आफ्ना कामदारहरुलाई मलेसिया जान रोक लगाएपछि मलेसियाल सरकारले यसमा चासो व्यक्त गरेको छ । मलेसियाको अघिल्लो सरकारले लागु गरेको एकद्वार प्रणालीले विदेशी कामदारबाट अर्बौ लुटिएको ठहर गर्दै नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएको थियो ।
मलेसिया सरकारसँग मिलेर खोलिएका भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतले पाँच वर्षमा नेपालीबाट अर्बौँ लुटेको समाचार आएपछि श्रम विभागले कामदार पठाउन रोक लगाएको थियो ।
मलेसियाका मानव संशाधनमन्त्री कुलसेगरनले यस विषयमा छलफलको लागि मलेसिया तयार रहेको बताएको थिए । उनले छलफल खुल्ला रहेको र मलेसिया सरकार सरकारी तवरबाट कामदार लैजान तयार रहेको भन्दै जी टु जीको प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम नेपालले छलफलका लागि त्यहाँका मानव संशाधनमन्त्री एम कुलासेगरनलाई निम्तो पठाएको छ । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई मन्त्रीको भ्रमणका लागि निम्तो पठाएको हो ।
भिसा प्रक्रियाका लागि मलेसिया सरकारले खडा गरेका संयन्त्रहरुलाई खारेज नगर्दा सम्म कामदार नपठाउने निर्णय सरकारले गरेको थियो । मलेसियाको श्रम बजारमा नेपाली कामदारले ठूलो हिस्सा ओगट्छन् । नेपालले कामदार नपठाउँदा मलेसिया सरकार दबाबमा पर्दै आएको छ ।
यसअघि मलेसियाका मानव संशाधनमन्त्री कुलशेखरनले प्रतिवन्धबारे नेपाललाई पुनःविचार गर्न आग्रह गरेका थिए । उनले समस्या समाधानका लागि मलेसिया सरकारले ठोस योजना ल्याउँने बताउँदै आएका छन् ।
उनको नेपाल भ्रमणका क्रममा द्विपक्षीय श्रम सम्झौता र कामदार पठाउन ‘जी टु जी’ मोडालिटीको विषयमा छलफल हुने बताइएको छ । नेपालको कामदार समस्याको समाधानका लागि मलेसियाको क्याविनेटमा शुक्रबार छलफल भएको थियो ।
प्रतिक्रिया