काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामै नेपालले १ खर्व २० अर्वको बस्तु आयात गरेको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा पहिलो महिनामै सवा खर्वको व्यापार घाटा भएको छ ।
देशको आन्तरिक उत्पादन कमजोर भई दैनिक उपभोग्य बस्तुसमेत विदेशबाट आयात गर्नुपर्दा देशको व्यापारघाटा उच्च हुन थालेको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको साउन महिनाको देशको आर्थिक स्थितीबारेको प्रतिवेदनमा साउनमा नेपालले १ खर्व २० अर्व ६१ करोड रुपैयाँको बस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ५३.३ प्रतिशत धेरै हो ।
बस्तु आयात गरिने मुलुकका आधारमा विश्लेषण गर्दा भारतबाट ४३ प्रतिशत, चिनबाट ३९.५ प्रतिशत र अन्य मुलुकबाट ९४.९ प्रतिशतले आयात बृद्धि भएको छ । वस्तुगत आधारमा हवाईजहाज तथा पार्टपूजा, अन्य मेशिनरी तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, रसायनिक मल, यातायातका साधन तथा पार्टपूर्जा, स्वास्थ सम्बन्धी उपकरण, लगायतका वस्तुहरुको आयात घटेको छ ।
यसैगरी साउनमा नेपालबाट हुने बस्तु निर्यात भने ३.२ प्रतिशतले मात्र बृद्धि भई ६ अर्व ९२ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।
ब्यापारघाटा उच्च हुँदा नेपाली अर्थतन्त्रको आधार रेमिट्यान्स मात्र हुन पुगेको छ ।
विदेशमा रहेका कामदारले पठाउने रेमिट्यान्स भने साउन महिनामा ३३.१ प्रतिशतले बढेर ३३ अर्व ९५ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया