काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारी ऐनकै कारणले सहकारीमा समस्या आएको बताएका छन् । ऐन समय अनुसार परिमार्जन नहुनुले पनि थप समस्या आएको उनको भनाइ थियो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा नेपाल सहकारी पत्रकार समाजको आयोजनामा सहकारी पत्रकारहरुका लागि बचत तथा ऋण सहकारी अभिमुखिकरण कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले सहकारीको विकासका लागि सहकारी ऐन परिमार्जन तथा बित्तीय सहकारी ऐन र सहकारी बैंक ऐन ल्याउन सके सहकारीमा समस्या नआउने बताए ।
‘सहकारीलाई व्यवस्थित गर्न अनुगमनलाई प्रभावकारी बनाइने छ’ उनले भने ‘सहकारीले रचनात्मक काम गरेपनि सहकारीको अनुगमन हुन नसक्दा केही केही सहकारीमा विकृति भित्रिएको हो ।’ ऐनले सहकारी मन्त्रालय नचिनेकाले छिट्टै ऐन संशोधन गरि अधिकार प्रत्योजन गरिने सचिव श्रेष्ठले बताए । समस्यामा रहेका सहकारीको समस्या समाधान गर्न ऐन संशोधन गरी अधिकारसम्पन्न छानबिन समिति बनाउने तयारी अन्तिम चरणमा पुगेको सचिव श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारी स्वनियमनमा चल्ने भनेर जे पायो त्यही गर्न नपाइने बताए । सहकारीले साधारणसभामा जे पनि गर्न पाइने भन्ने नहुने धारणा राखे । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)का अध्यक्ष डिल्लीप्रसाद सापकोटाले सहकारीका विकासका लागि सञ्चारसँग सहकार्य अपरिहार्य भएको बताए ।
एक दिने अभिमुखिकरण कार्यक्रम बचत तथा ऋण सहकारीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे हो । कार्यक्रममा विभिन्न संचार माध्यममा आवद्ध दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव परितोष पौड्याललगायतको कार्यपत्र रहेको थियो ।
प्रतिक्रिया