काठमाडौं । ऋणको व्याजदर करिव डेढ प्रतिशतसम्म घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार गरेको मौद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत ऋणको व्याज घटाउने गरी नीतिमा परिमार्जन गरेको हो ।
राष्ट्र बैंकबाट पुनरकर्जा लिएर दिने ऋणको ब्याजदर एक प्रतिशतले स्वत घट्ने मोद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत गरिएको छ । बाँकी कर्जाको ब्याजदर भने राष्ट्र बैंकले परिवर्तन गरेको नीतिगत व्यवस्थाले घट्ने छ ।
राष्ट्र बैंकको गरेको व्यवस्था अन्तर्गत अहिले स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुन नपाइने नियम छ । राष्ट्र बैंकले असार मसान्तसम्ममा वाणिज्य बैंकले यसलाई साढे ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मध्यावधी समिक्षा मार्फत ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।
यसले स्प्रेडदरलाई थप घटाउने छ । जसले गर्दा सबै खाले ऋणको ब्याजदर केही घट्छ । अहिले औसतमा कर्जा निक्षेपको ब्याजदर अन्तर ५.५७ प्रतिशत रहेको छ । यस बाहेक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ग्राहकसँग लिने प्रशासनिक सेवा शुल्क तथा प्रतिबद्धता शुल्कलाई ब्यवस्थित बनाउँदै ग्राहकको कर्जा सम्बन्धी लागत कम गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख गरेको छ ।
अहिले ऋण स्वीकृत भएपछि बैंकले ग्राहक अनुसार स्वीकृत भएको रकमको एकदेखि दुई प्रतिशतसम्म सेवा शुल्क लिने गरेका थिए । यो व्यवस्थाले सेवा शुल्कको नाममा अनावश्यक रकम दिनु पर्दैन । यस व्यवस्थासँगै करिव डेढ प्रतिशतसम्म व्याजदर घट्ने सम्भावना रहेको छ । मोरङबाट सुरु भएको उद्योगी र व्यापारीको आन्दोलन प्रधानमन्त्रीको कार्यकक्षसम्म पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई व्याज घटाउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया