वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि बिमा नगरेको भन्दै अर्थमन्त्रीको चेतावनी : नयाँ कम्पनी खोल्नु नपरोस्

अर्थटुडे
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिमा कम्पनीहरुले कृषिलगायत लघु बिमा गर्न चासो नदेखाएको भन्दै नयाँ कम्पनी खोल्ने चेतावनी दिएका छन् । बिमा समितिको ५२ औ बार्षिकोत्सवका अवसरमा भिडियो कन्फेरेन्समार्फत बोल्दै उनले पुराना कम्पनीहरुले काम नगरे नयाँ कम्पनीलाई अनुमति दिएर भएपनि लघुबिमाको दायरा विस्तार गर्नुपर्ने उल्लेख गरे ।

“बिमाको पहुच २७ प्रतिशत पुग्यो भन्दै गर्दा लघुबिमाको विस्तारलाई पनि हामीले विश्लेषण गर्नुपर्छ”। अर्थमन्त्रीले भने “लघुबिमालाई प्राथमिकतामा राखेर पहुँच विस्तार गर्नुहोस्, भएका संस्थाहरुले काम गर्न सक्दैनन् भने नयाँ संस्था बनाएर अघि बढौं लामो समय कुर्न सकिदैन ।” हाल सरकारको प्राथमिकतामा पशुबिमा, बाली बिमाका साथै साना तथा मझौला उद्योगको बिमा सरकारको प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

मन्त्री खतिवडाले बिमा कम्पनीहरुको दावी भुक्तानी प्रक्रियामा अझै पनि सर्वसाधारणको गुनासो आएको भन्दै बीमा समितिलाई त्यस्तो गुनासो अन्त्य गर्नेगरी काम गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले पार्ने प्रभाव न्यूनिकरणका लागि नियामक निकायबिच सहकार्य आवश्यक रहेको र यसका लागि छलफल गरिने बताए । उनले बिमाको दावी भुक्तानीका साथै विमितको हित संरक्षण, बिमा शिक्षा, चेतना विस्तारमा समेत अघि बढ्न आवश्यक रहेको उल्लेख पनि उल्लेख गरे ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बिमा क्षेत्रको दायरा बढाएर कर्जा बिमा, व्यवसाय बिमाका साथै व्यक्तिगत आवश्यक्ताका आधारमा पोलेसी जारी गर्न सुझाव दिए । उनले बिमा कम्पनीहरुले म्युचुअल फण्ड बनाउन सक्ने व्यवस्था गरिएको भन्दै अब कक्पनीहरुले सेयरमा लगानी गर्ने सिमा बढाउनुपर्ने आवश्क्ता औल्याए ।

नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बिमा कम्पनीको कोषलाई उत्पादनमुलक तथा पूर्वाधार विकासका लागि प्रयोग गर्नुपर्ने बताए । उनले बिमा पोलेसी जारी गर्दा प्रविधि टेक्नोलोजीको प्रयोग बढाउन पनि सुझाव दिए ।

समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बिमा क्षेत्रको विकास र विस्तारमा लागिरहेको बताए । उनले बिमाको पहुँच विस्तारसँगै कम्पनीहरुको संस्थागत शुसासन, पारदर्शीता, विमितको हितमा जोड दिइएको बताए ।

यसैगरी नेपाल बिमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले कोरोनाका कारण विभिन्न व्यवसाय प्रभावित हुँदा निर्जीवन बिमा कम्पनीको व्यवसायमा पनि असर पर्ने बताए । उनले आगामी दिनमा बिमाको दायरा विस्तार गर्नका लागि सरकारले संचालन गर्दै आएको स्वास्थ्य बिमा बिमा कम्पनीहरुमार्फत नै संचालन गर्न, घर बिमामा अनुदान दिनलगायतका सुझाव दिए । जीवन बिमा संघ अध्यक्ष शिवनाथ पाण्डेले जीवन बिमा सबै नागरिकको आवश्यक्ता हो भन्ने कुरा राज्यले स्विकार गर्नुपर्ने बताए । जीवन बिमाको दायरा विस्तार गर्न कर छुटको सिमालाई २५ हजारबाट बढाउनुपर्ने र न्यून आय भएका नागरिकको बिमा सरकारले गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ