काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बाल्यावस्थामा नै रहेको देशका वित्तीय संस्थाको सुदृढीकरणमा मौद्रिक नीति केन्द्रित रहेको बताएका छन् । इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च नामक संस्थाले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले वित्तिय प्रणालीलाई समस्यारहित तुल्याउन कानुनी दायरामा रहेर उक्त नीति सार्वजनिक गरिएको प्रष्ट्याए ।
कृषि, ऊर्जा, पर्यटन र साना तथा घरेलु उद्योगले प्रतिफलका साथै रोजगारीका अवसरहरू सिर्जना गर्ने भएकाले ती क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकहरूलाई निर्देशन दिइएको बताउँदै गभर्नर डा.खतिवडाले देशको समग्र अर्थतन्त्रलाई उजिल्याउन बैंकको स्रोत परिचालन हुनैपर्छ भने ।
बैंकका सञ्चालक तथा अध्यक्ष दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाइने मौद्रिक नीतिले गरेका प्रावधानको व्याख्या गदै उनले भने “वित्तीय स्थायित्वको सुनिश्चितता, पारदर्शिता एवम् जवाफदेहिता प्रवद्र्धन गर्न तथा सर्वसाधारण निक्षेपकर्ताको रकमको सुरक्षाका लागि संस्थागत सुशासनसम्बन्धी व्यवस्था गरिएको हो” ।
बैंक तथा वित्तीय क्षेत्रको स्वास्थ्य सुधारका लागि बैंक तथा वित्तीय संस्था ऐन, बैंकिङ कसुर तथा सजाय ऐन र विदेशी विनिमय नियमित गर्ने ऐन संसद्समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको बताउँदै उनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन तर्जुमाबारे पनि केन्द्रीय बैंकले छलफल गरिरहेको जानकारी दिए ।
सोही कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मूल्यवृद्धि नियन्त्रण नै मौद्रिक नीतिको लक्ष्य हुनुपर्नेमा जोड दिँदै अघिल्लो वर्ष जारी भएको उक्त नीतिले पनि घोषित लक्ष्य हासिल गर्न नसकेको बताए ।
त्यसैगरी नेपाल बैंकर्स सङ्घका अध्यक्ष राजनसिंह भण्डारीले महँगीबाट आहत सर्वसाधारणको क्रयशक्ति बढाउने खालको मौद्रिक नीति आउनुपर्ने बताउँदै नीतिमा गरिएको उत्पादनशील क्षेत्रको परिभाषा सङ्कुचित भएको गुनासो गरे ।
प्रतिक्रिया