काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि कोरोना बिमालेख जारी गरेका निर्जीवन बिमा कम्पनीहरु तर्सिन थालेका छन् । सुरुवातमा तात्तिएका कम्पनी संक्रमितको संख्या बढेपछि बिमा लेख बिक्रीमा कडाइ गर्न थालेका छन् ।
बिमा समितिले समेत बिमालेख बिक्रीमा कडाइ गर्दै लगेको छ । केहि दिनअघि निर्जीवन बिमा कम्पनी बाहेकलाई बिमालेख जारी गर्न रोक लगाएको समितिले फेरी कोरोना बिमालेखलाई अन्डराइटिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्था अनुसार विदेशबाट आएका व्यक्तिहरुले अब सिधै कोरोना बिमा गर्न पाउनेछैनन् । विदेशबाट आएका मानिसहरुले १५ दिन क्वारेन्टीन र १५ दिन परिवारसँग घुलमिल भएपछि आरटिडि परिक्षण गराउनुपर्ने र रिपोर्ट नेगेटिभ आएमात्र बिमा गर्न पाउनेछन् । आरटिडी परिक्षणको प्रमाणीकरण स्थानिय तहले गर्नुपर्ने व्यवस्था छ ।
बैंशाख ७ गतेबाट सुरु भएको कोरोना बिमालेक हालसम्म १२ हजार ५७८ जारी भइसकेको छ । १ लाख ५९ हजार ९३६ जनाको कोरोना बिमाबाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ बिमा शुल्क समेत संकलन भएको समितिले जनाएको छ ।
एकलाख रुपैयाँको बिमा गर्न चाहनेले प्रति व्यक्ति एक हजार र परीवारको गर्दा प्रतिव्यक्ति ६०० तिर्नुपर्छ । यस्तै ५० हजारको बिमा गर्दा व्यक्तिगत ५०० रुपैयाँ र परीवारको गर्दा प्रति व्यक्ति ३०० रुपैयाँमा बिमा गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया