अन्तराष्ट्रिय सहकारी महासंघकी (आइसीए) की ग्लोवल बोर्ड डाइरेक्टर तथा राष्ट्रिय सहकारी महासंकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले युवाहरुको समस्या धेरैजसो देशको एकैखालको पाएको बताएकी छिन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) द्धारा आयोजित सहकारीमा र युवा विषयक भच्र्यअल छलफल कार्यक्रममा उनले आइसिएले युवाहरुको लागि विभिन्न प्ल्याटफर्म सिर्जना गरिरहेको र आगामी दिनमा पनि गर्ने बताइन् ।
त्यस्तै उनले राष्ट्रिय सहकारी महासंघ युवाहरुको वृत्ति विकासमा सहयोग गरिरहेको जानकारी दिइन् । उनले सन् २०१३ देखि महासंघले युवा समिति नै बनाएर सहकारीमा युवाहरुलाई आकर्षित गराउन काम गरिरहेको बताइन् ।
कार्यक्रममा आइसीए युथ नेटवर्क अमेरिका, एसिया र नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाई वक्ताको रुपमा रहेका थिए । कार्यक्रमको सहजिकरण सहकारी पत्रकार समाजकी कोषाध्यक्ष शर्मिला ठकुरीले गरेकी थिइन् भने स्वागत मन्तव्य समाजका अध्यक्ष खिलानाथ दाहालले राखेका थिए। कार्यक्रमका वक्ताहरुको विचार उनीहरुकै शव्दमा :
ओमदेवी मल्ल (Om Devi Malla)
ग्लोवल बोर्ड सदस्य (आइसीए) तथा वरिष्ठ उपाध्यक्ष (एनसीएफ)
धेरैजसो देशहरुको समस्या एकैखालको पाएँ । सबै देशमा भविष्यमा गरिने कामहरुको योजना बनाउने कुरामा पनि समस्या भएको पाएँ । आइसीएले सन् २००३ मा युवाहरुको नेटवर्क गठन गरेको हो ताकी उनीहरुले पनि आफ्ना कुराहरु आइसीएमा निर्धकका साथ राख्न सकुन् । साथै उनीहरु भविष्यका सहकारीका नेता बन्न सकुन् । अर्को कुरा युवाहरुले न्यायको लागि, वातावरणको सुरक्षा र दन्डहिनताको अन्त्य गर्नका लागि आवाज उठाउन सक्छन् ।
आइसीएको युवा नेटवर्कले गत अक्टुवरमा भएको आइसीएको बार्षिक साधारणसभामा ४ वटा रेजुलेसन पास गरेको थियो । युवाहरुको क्षेत्रिय कमिटिलाई बलियो बनाउने र उनीहरुको भोट दिन पाउने अधिकार सहितको क्षेत्रीय आइसिए बोर्डमा सहभागिता गराउने, युथ एक्सन प्लानलाई विभिन्न ठाउँमा परिचित गराउने, युवाहरुलाई आइसीएको कार्यक्रममा सहभागी गराउनका लागि सहयोग स्वरुप बजेट विनियोजन गर्ने र ग्लोवल युथ नेटर्वकलाई विस्तार गर्नको लागि विभिन्न प्रकारका सहज विधिहरु बनाउने हो ।
नेपालमा पहिलो काम भनेको सहकारीमा युवाहरुको सहभागिता बढाउने हो, अर्को उनीहरुलाई सहकारीको महत्व र सहकारीले कसरी मानिसको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरणमा सहयोग पुर्याउँछ भन्ने विषयमा जानकारी दिने हो । त्यस्तै युवाहरुलाई भविष्यमा सहकारीको नेताको रुपमा विकास गर्नु पनि राष्ट्रिय सहकारी महासंघको नीति छ ।
महासंघले पनि सन् २०१३ देखि युवा समिति बनाएर युवाहरुलाई सहकारीमा आवद्ध हुनका लागि घच्घच्याइ रहेको छ । त्यस्तै विभिन्न मन्त्रालयसँग मिलेर सहकारीको बारेमा विद्यालय र कलेज तहमा नै शिक्षा दिन थालेको छ । युवाहरुलाई सहकारीमा आवद्ध गराउनका लागि धेरै समस्याहरु पनि छन् । हामीहरु विभिन्न निकायसँग युवामैत्री नीति र योजनाहरु ल्याउनका लागि वकालत गरिरहेका छौ । हामीले सहकारीको पाठ्यक्रम पनि विकास गरिरहेका छौ । फेरी पनि म मेरोतर्फबाट युवाहरु विकासको लागि आइसिए र नेपालको महासंघमा पनि लविङ गर्दछु ।
बद्रीकुमार गुरागाई (Badri Kumar Guragain)
प्रमूख कार्यकारी अधिकृत (राष्ट्रिय सहकारी बैंक)
नेपालका अधिकांश युवाहरुलाई सहकारी कसरी चल्छ भन्नेबारे पर्याप्त जानकारी छैन । युवाहरुको पहुँच सहकारी नभएकाले सहकारीको संचालक भएर आउन पनि ग्राहो छ । सहकारीमा युवा को सहभागिता योजना मा मात्र सिमित हुन्छ ।
सहकारीको माध्यमबाट युवाहरुले व्यवसाय गर्न सक्दैनन् किनकी नेपालमा धितोमा मात्र कर्जा प्रवाह गर्ने चलन छ । युवाहरुसँग धितो हुदैन । मैले स्टार्टअप विजनेशको लागि युवाहरुसँग काम गर्न खोजे तर सकिन । १६ बर्षभन्दा मुनीका युवाहरु सहकारीमा सदस्यता लिन पाउँदैनन् । जवसम्म उनीहरु सदस्य हुदैनन् तवसम्म सहकारीमा आवद्ध हुन पाउदैनन् सहकारी ऐनमा नै यस्तो व्यवस्था गरिएको छ ।
नेपालमा सहकारीमा युवाहरुको सहभागिता बढाउनका लागि तीनवटा समस्याहरु रहेको छ । पहिलो कानुनी व्यवधान, दोस्रो अशिक्षित समाज र तेस्रो युवा नेतृत्व राजनीतिमा संलग्न हुनु हो ।
विस्तारै नेपालले सहकारीमा युवाहरुको प्रतिनिधित्वबारे वकालत गरिरहेको छ । सहकारीका केन्द्रिय संघहरुले पनि युवा कमिटी गठन गरिरहेका छन् । अब संचालक समितिमा युवाहरुको सहभागिता सुनिश्चित गर्नका लागि कोटा तोक्नुपर्छ ।
राष्ट्रिय सहकारी बैकले युवाहरुलाई सहकारीमा संलग्न गराएर शिक्षा दिन लागिरहेको छौ । हामीले योजना बनाएर सन्चालक समितिबाट पास गरिसकेका छौ । हाम्रो योजना नेपालभरका स्कुलस्तरमा नै अनौपचारीक सहकारी क्लव गठन गर्ने र क्लवमार्फत सहकारी सम्बन्धी निवन्ध लेखन, वादविवाद जस्ता अतिरिक्त क्रियाकलापहरु गर्ने रहेको छ । यसबाट उनीहरु किशोर अवस्थादेखि नै सहकारीसम्बन्धी बुझ्न सक्छन् । क्लवहरुको वित्तिय व्यवस्थापनको जिम्वेवारी स्थानीय सहकारीलाई दिने योजनाका साथ हामी अगाडी बढीरहेका छौ । यो काम यसै आर्थिक बर्षदेखि सुरु हुन्थ्यो तर कोरोनाको कारण सम्भव भएन ।
यस्तै हामीले युवालाई अनिवार्य रुपमा संचालक समितिमा ल्याउने र युवाहरुको नेशनल फेडेरेसन पनि बनाउने गरी काम गरिरहेका छौ । क्लवहरुबाट छानिएर आएका युवाहरुलाई हामीले राष्ट्रिय च्यापियन बनाउनेछौ, जसले युवा र सहकारीलाई एकीकृत गरेर अगाडी लैजानको लागि नीतिगत तहमा वकालत गर्न सक्छ । एक बर्षमा दुई हजार जति युवा नेताहरु जन्माउने सोचमा छौ ।
यदी स्थानीय रुपमा नै सहकारीको बारेमा युवाहरुमा जानकारी हुदैन भने ग्लोवल रुपमा कसरी अगाडी बढ्न सक्छन् ? हामीले बनाएको योजनाले सहकारी अभियानबाट विस्तारै सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणमा ठूलो मद्धत पुग्नेछ ।
एन्जेलिका सोवरेन्स (Angélica Soberanes)
प्रेसिडेन्ट (आइसीए युथ नेटवर्क अमेरिका क्षेत्र )
मेक्सिकोमा पनि युवाहरुले संचालन गरेको सहकारीहरु छैनन् त्यसैले युवाहरुलाई सहकारीमा लाग्न प्रेरित गर्नुपर्छ । मेक्सिकोमा सहकारीका समाचारहरु मुलधारका मिडियाले स्थान दिदैनन् जसका कारण सर्वसाधरणले सहकारी के हो भन्ने बारे बुझ्न सकिरहेका छैनन् । त्यसैले अमेरिकी युवाहरुलाई सहकारीको बारेमा जनचेतना जगाउनुका साथै सहकारीको बारेमा जानकारी पनि दिनु आवश्यक छ । हामीले सोही गरिरहेका छौ । यदी साच्चै नै सहकारी अभियानको बारेमा जानकारी पाए भने उनीहरु सहकारीप्रति आकर्षित हुन्छन् ।
तपाईहरुले युरोप र अमेरिकाहरुको सहकारीको मोडल हेर्नुभयो भने यो एक प्रकारको विजनेशको रुपमा अगाडी बढेको देखिएको छ । यदी कुनै युवाले सहकारी खोल्न खोज्यो भने त्यो समाजमा अनौठो मानिन्छ । यसलाई गरिवहरुको विजनेशको रुपमा लिइने गरेका छन् ।
मेक्सिकोमा सरकार सहकारीलाई महत्व दिन चाहदैन । युवा पुस्ताहरु जव उनीहरु पढाइ सक्छन् तव सहकारी भन्दा बाहिर गएर पैसा कमाउन चाहन्छन् । हामीले युवाहरुको मनस्थिति बदल्नु जरुरी छ । पहिले सहकारीकर्मी जन्माउनुपर्छ अनिमात्र सहकारी संस्था जन्माउनुपर्छ ।
हामीले युवाहरुको मनस्थितिसँग काम गर्नु जरुरी छ । यहाँका जनताहरु पनि शिक्षित छैनन् त्यो हाम्रो समस्या हो । आइसिए अन्तर्गतको अमेरिका युथ कमिटीको प्रेसिडेन्ट भएको नाताले के भन्छु भने हामी पुल हौ, केही बर्षअघि अमेरिकी नेटवर्कमा युथ पोलिसीको विकास गरेका थियौ । त्यो पोलिसीमा सवैले हस्ताक्षर गरेका थिए । र त्यो पोलिसीले सहकारीका बोर्ड मेन्मरमा युवाहरुलाई ल्याउनका लागि हाम्रो लागि ठूलो काम गर्यो ।
असान अलि ठाकुर (Ahsan Ali Thakur)
अध्यक्ष,(आइसीए युथ नेटवर्क एसिया क्षेत्र)
धेरै एसियनहरुले अंग्रेजी भाषा बुझ्न सक्दैनन् । एसियन क्षेत्रमा सहकारीको बारेमा जनताविच उपयुक्त सन्चार गर्नका लागि भाषा नै पहिलो बाधा हो । त्यसैले हामीले पहिले स्थानीय भाषामा नै जनतालाई सहकारी अभियान के हो र कसरी अगाडी बढाउन सकिन्छ भनेर युवाहरुलाई बुझाउनु पर्छ ।
जवसम्म मानिसहरु सहकारीको बारेमा जानकारी राख्दैनन् तवसम्म उनीहरुलाई सहकारी शिक्षाको आवश्यकता हुदैन । जनचेतना पहिलो प्राथमिकता हो त्यसपछि शिक्षा र संचार आउँछ ।
हामीले आइसीएसँग जहिले पनि युवाहरुको आवाजलाई स्थान दिनुपर्ने र युवाहरुलाई आफैले निर्णय गर्नसक्ने क्षमताको विस्तार गर्नुपर्ने कुराहरुमा आवाज उठाउदै आएका छौ । त्यस्तै हामीले पनि एसिया प्यासिफिकको बोर्ड कमिटिमा भोट दिन पाउनुपर्छ भनेका छौ । सहकारी डेमोक्रेसिमा विश्वास गर्ने सस्था हो । त्यसैले सबैले आफ्नो भोट दिन पाउनुपर्छ । तर हामीलाई छोडिएको छ ।
प्रतिक्रिया