वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेताहरुले देश र जनताको लागि दूरदर्शीपूर्ण निर्णय गर्नु पर्दछ

अर्थटुडे
२०७१ श्रावण १४, बुधबार

डा.मदनकुमार दाहाल
अध्यक्ष मेगा बैंक एवं अर्थशास्त्री,प्रोफेसर

छिमेकी मित्र राष्ट्र भारतका पूर्व प्रधानमन्त्री आई. के. गुजरालको नेपाल भ्रमणको १७ वर्ष पश्चात भारतका वर्तमान प्रधानमन्त्री  नरेन्द्र मोदीको आगामी श्रावण १८, २०७१ (अगस्ट ३, २०१४) देखि नेपालको दुई दिने मैत्रीपूर्ण राजकीय भ्रमण शुरु हुंदैछ, यो नेपाल र नेपाली जनताको लागि अत्यन्त खुशीको विषय हो।

madan

यो भ्रमणवाट दुवै देश वीच आपसी विश्वास, सद्भाव र मैत्री अझ प्रगाढ हुने, पारस्परिक सहयोगको सृंखलामा विस्तार र नया आयाम थपिने र दुवै देश र जनताको हितमा फाईदा पुग्ने खास गरि पूर्वाधार विकास सम्वन्धी ठूला परियोजनाहरू संचालन गर्ने वारे संझौता हुने छ भन्ने आशा गर्न सकिन्छ। 


यसको निमित्त संविधान सभा भित्र र वाहिर रहेका रहेका राजनैतिक दलहरू वीच आपसी विश्वास, समझदारी र एकता हुनु पर्दछ। यस्तो महत्वपूर्ण घडीमा सवै नेताहरूले आ-आफ्नो वुद्धि, विवेक र क्षमताको प्रयोग गर्दै सुझबुझका साथ दूरदर्शीपूर्ण निर्णय गर्नु पर्दछ, त्यो नेपाल र नेपालीको निमित्त हितकर हुने छ।

तसर्थ, भारतका प्रधानमन्त्री समक्ष धेरै माग र परियोजनाहरूको फेहरिस्त पेश गर्नु भन्दा दुवै देशका जनतालाई फाईदा पुग्ने र भविष्यमा तोकिएको समय सारिणी भित्र सफलता पूर्वक कार्यान्वयन हुन सक्ने क्षेत्रहरूमा सहयोगको संदर्भलाई अघि वढाईनु पर्दछ। 
मेरो प्रस्ताव के छ भने: (१) वि. सं. २०५२ मा दुवै देश बीच भएको महाकाली-पंचेश्वर-टनकपुर वहुउदेश्यीय जल-विध्युत परियोजना (६,५०० मेगावाट) मौजुदा प्रावधानहरूलाई कायम राख्दै पुन: प्रभावकारी ढंगले संचालन गर्ने र तोकिएको समयमा सम्पन्न गर्ने;

(२) अहिले नेपालमा विध्यमान अर्ध-अन्धकारको स्थितिलाई तत्काल न्यूनिकरण गर्न भारतवाट २०० मेगावाट (ट्रान्समिसन लाईनको प्याकेज सहित) बिध्युत खरिद गर्न संझौता गर्ने, किनभने हाल निर्माणाधिन बिध्युत परियोजनहरूवाट उत्पादन कार्य कहिले सम्पन्न हुने हो निश्चित छैन;

(३) भारत वा दुवै देशको संयुक्त लगानीमा नेपालको पहाडी फेदी हुंदै नेपाल र भारतको सिमाना जोड्ने गरि पूर्व-पश्चिम रेलवे निर्माण गर्ने;

(४) नेपालको भारत संग बढ्दो व्यापार घाटा कम गर्न नेपाली वस्तुलाई भारतको वजारमा सहज पहुंच पुर्याउन अल्प विकशित मुलुकले पाउने सुविधा अनुरूप “शून्य भंसार दर”को प्रावधान अवलम्वन गर्ने; र

(५) भारतले हांसिल गरेको विज्ञान र प्रविधिको उच्चतम अनुभवलाई कृषि, उध्योग, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र ज्ञान-विज्ञानको क्षेत्रको विकासमा नेपालले पनि भारत संग सहकार्य गर्ने। 

आशा गरौं, छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको यो पहिलो नेपाल भ्रमणले नेपाल-भारत वीचको सम्वन्ध अझ प्रगाढ र सुमधुर हुनेछ र एउटा नंया उचाई प्राप्त गर्ने छ।

यद्यपि, दुवै देश वीच सीमा विवाद लगायत केहि मुद्दाहरूमा उच्च स्तरीय समझदारी कायम गरिनु पनि अति आवश्यक छ, यसवारे पनि यथा शिघ्र प्रकृयामा जानै पर्दछ; तर पहिलो भेटमै सवै कुरा निर्क्यौल गर्न के कति संभव होला? 

त्यसैले अव नेपालमा राष्ट्रिय महत्व र प्राथमिकताका विषयहरूमा राजनैतिक दल र नेताहरू वीच समझदारी र एकताको प्रदर्शन हुनै पर्दछ। अनि मात्र तोकिएको समयमा सम्विधान निर्माण गर्न, गणतन्त्रलाई संस्थागत गर्न र मुलुकलाई अल्प-विकसित स्तरवाट बिकासशील मुलुकको दांजोमा पुर्याउन संभव हुने छ।

यसवाट छिमेकी मुलुकहरू संग ठाडो शीर गरेर आफ्ना एजेन्डाहरू निर्धक्क राख्न समर्थ हुनेछौं र लामो समय देखि दुई देश वीच मुल्तवी रहेका समस्याहरू सम्मान पूर्वक समाधान हुने आधार सृजना हुने छ। नेताज्यूहरूलाई चेतना भया 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ