काठमाडौं । सुन्धारामा रहेको सिभिल ट्रेड सेन्टर (सिटिसी मल)मा उच्चस्तरीय मोबाइल बजार “न्यु मोबाइल मार्केट”सुरु हुने भएको छ । मलको ४ तल्ला र ५ तल्लामा १ सय भन्दा बढि मोबाइलका ब्राण्डेड पसल तथा बिभिन्न कम्पनीका सो रुम र केयर सेन्टर खुल्ने भएको छ ।
कन्स्टिलेशन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमीटेडले बजार ब्यबस्थापन गरि संचालन गर्न लागेको नयाँ मोबाइल बजारका लागि ८० प्रतिशत पसल बुक भइसकेको र इन्टेरियरको कार्य भइरहेको कन्स्टीलेसन सेभिङका अध्यक्ष तथा नेपाल मोबाइल ब्यबशायी संघका पूर्व अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।
पार्किङको प्रशस्त सुबिधा रहेको यस मलमा मोबाइल खरिद गरेको खण्डमा शुल्क नलाग्ने ब्यबस्था गरिने अध्यक्ष बस्नेतले बताए । देशकै ठुलो र स्तरिय मोबाइल बजारको रुपमा सँचालन गर्न लागिएको यो स्थानमा स्तरिय मोबाइल मात्र बिक्री गर्ने योजना रहेको बताउँदै अध्यक्ष बस्नेतले गलत बाटोबाट आयातित मोबाइल सेटहरुलाई निरुत्साहित गर्ने बताए । २४ सै घण्टा बिजुली तथा शुरक्षाको ब्यबस्था मिलाइने यस मोबाइल मार्केटमा आउने ग्राहकहरुका लागि फ्रि वाइफाइको ब्यबस्था मिलाइने संचालकले बताएका छन् ।
सस्तो देखि महंगो सम्मका मोबाइलका स्तरिय सेट उपलब्ध हुने यस मोबाइल हबमा एक्सचेन्जको ब्यबस्था ब्यबस्थित तरिकाले गर्न लागिएको छ । असारको मध्यबाट सँचालित हुने यस स्थानमा मोबाइल इन्सटलमेन्टमा किन्न सकिने ब्यबस्था गरिने छ । मोबाइल चलाउँदै खाजा खान सकिने ब्यबस्थाका साथै हब भित्र वाइफाइको सुबिधा निशुल्क गरिने छ ।
वारेन्टी भएका र स्तरिय कम्पनीबाट उत्पादित मोबाइल सेट मात्र बिक्री बितरण गर्न लागिएको यस स्थानबाट बिक्री भएका हरेक मोबाइल १ बर्ष वारेन्टी दिने ब्यबस्था गरिन लागेको जे एस मोबाइलका प्रबन्ध निर्देशक जगत साउदले बताए ।
मर्मत तथा खरिदमा दैनिक ५ हजार भन्दा बढि उपभोक्ताले सुबिधा लिन सक्ने ब्यबस्था गरिएको पारामाउण्ट मोबाइलका रोशन बिष्टले जानकारी दिए ।
अबैध बाटोबाट भित्रीएका मोबाइल सेटहरुलाई निषेध गरिएको यस मोबाइल हबमा जेन्युन सामानको मात्र कारोबार गरिने कम्पनीले जनाएको छ । बिभिन्न मोबाइल कम्पनीहरुका सो रुम , केयर सेन्टर रहने यस मोबाइल बजारमा नाम चलेका मोबाइल पसलहरुका पनि सोरुम लगायत केयर सेन्टर रहने सामसुङ मोबाइल एण्ड इलोक्ट्रोनिक्स प्रालिका गुरुदत्त शर्माले बताए । समुहले सँचालन गरेको सहकारी मार्फत स्तरिय फोन किन्न पैसा अभाब हुनेहरुलाइ इन्स्टलमेन्टमा मोबाइल खरिदगर्न सक्ने ब्यबस्था मिलाइने कम्पनीले जनाएको छ ।
मोबाइल बजारमा सामसुङ, नोकिया, हुवावे, एलजी, सोनी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, डिटिसी, लाभा, जोलो, फ्लाइ, इन्टेक्स, माइक्रोम्याक्स र वीम्पकम, पानासोनीकलगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री बितरण हुने कम्पनीले जनाएको छ ।
पार्किङ सहितको मोबाइल बजारका कारण यस स्थानमा बजार स्थापित हुन समय नलाग्ने र आफुहरुले ग्राहकको मायाँ छिट्टै पाउने विश्वास लिएको टप फाइभ मोबाइल प्रालिकी श्याम कु. राईले बताइन् ।
प्रतिक्रिया