काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले गाउँको पर्यटन प्रवद्र्धनमा सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्चको १८ औँ वार्षिक साधारणसभाको विहिबार काठमाडौमा उद्घाटन गर्दै उनले भने “गाउँको पर्यटन प्रवद्र्धन गर्न सकिरहेका छैनौँ, सरकारले पनि अहिले होमस्टेलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने भएकाले यसलाई प्राथमिकताकासाथ अघि बढाउन जरुरी छ ।”
मन्त्री आचार्यले संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई जोड दिएर क्रमशः गाउँ पर्यटन प्रवद्र्धनमा बजेट र कार्यक्रम बढाउँदै जाने र यस्ता कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गुणनिधि शर्माले पर्यटनलाई ग्रामीण रुपान्तरण अभियानका रुपमा अघि बढाउन जरुरी भएको उल्लेख गरे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले पर्यटन प्रवद्र्धनको महत्वपूर्ण संस्था नेपाल पर्यटन बोर्डमा देखिएको विद्यमान समस्या समाधान गरेर पर्यटन व्यवसायी र सरकारले पूर्वाधार विकासमा लगानी गर्न जरुरी छ भने ।
प्रतिक्रिया