वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक्सेस ब्राण्डमा आर्थिक चलखेल भएको सार्वजनिक भएसँगै नेफ्स्कूनलाई अक्कुको पत्र: मिलीजुलीको सिइओलाई निलम्बन गरी छानविन गर्नु

अर्थटुडे
२०७७ कार्तिक २५, मंगलवार

काठमाडौं । सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस ब्राण्ड’ वितरणमा आर्थिक चलखेल भएको विषय सार्वजनिक भएसँगै एसियाली ऋण महासंघ (अक्कु) ले दोलाखास्थित मिलिजुली कालिञ्चोक सहकारी संस्थाको सिइओलाई  निलम्बन गरी छानविन गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई निर्देशन दिएको छ ।

अक्कुकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलेनिता भि.सानरोक्युले मंगलबार नेफस्कूनका कायम मुकायम सिइओलाई प्रकाश पोखरेललाई पत्राचार गरी मिलिजुली साकोसको संचालक समितिलाई संस्थाको सिइओ निलम्बन गर्न लगाइ वा एक महिना अनिवार्य विदा दिएर संस्थामाथि लागेको आरोपको स्वतन्त्र छानविन गर्न निर्देशन दिएकी हुन् ।

मिलिजुली कालिञ्चोक सहकारीलाई एक्सेस ब्राण्ड प्रदान गर्दा आर्थिक चलखेल भएको तथा संस्थामा विभिन्न अनियमितताको समाचार सार्वजनिक भएपछि अक्कुले छानविन गर्न निर्देशन दिएको हो । मिलिजुली साकोसले गतवर्ष एक्सेसको सिल्भर ब्राण्ड प्राप्त गरेको थियो ।

एक्सेसले ब्राण्डले सहकारी संस्थाको सुरक्षाको सुनिश्चितता गर्ने भएपनि मिलिजुली साकोसको सिइओले घुस खुवाउने र छद्म ऋण प्रवाह गर्ने काम गरेर वित्तिय अपराधको काम गरेको गम्भिर विषय समाचारमार्फत सार्वजनिक भएको भन्दै ब्राण्डको रक्षाको लागि ७ बुँदे निर्देशन दिएको हो । निर्देशनमा सक्षम व्यक्तिको नियुक्ती गरी संस्थाको स्वतन्त्र छानविन गर्न, छानविनमा सहकारी विभागका अधिकारीलाई समेत संलग्न गर्न भनिएको छ ।

अक्कुले मिलिजुली साकोसले पाएको एक्सेस ब्राण्ड निलम्वन गरी अनुसन्धान रिपोर्ट नआएसम्मका लागि रद्द गरेको जनाएको छ । त्यस्तैगरी अक्कुले मिलिजुली साकोसको समस्या समाधान नहुन्जेलसम्म एक्सेस ब्राण्डको सन् २०२० र २०२१ को रिजल्ट प्रकाशित नगर्न र ब्राण्ड प्राप्त सबै साकोसहरुको मिटिङ राख्न समेत निर्देशन दिएको छ ।

नेफ्स्कूनका कामु सिइओ प्रकाश पोखरेलले अक्कुबाट पत्र प्राप्त भएको जानकारी दिदै प्रारम्भिक छानविनका लागि अधिकृतद्धय बल्लभ तिमल्लसेना तथा दिपक अर्याललाई संस्थामा पठाएको जानकारी दिए । उनीहरुको प्रतिवेदनका आधारमा थप निर्णय गर्ने उनले जानकारी दिए ।

यसअघि सहकारी विभागले पनि सोमबार नै नेफ्स्कून र मिलिजुली कालिञ्चोक सहकारी संस्थालाई १५ दिने समय दिएर स्पष्टिकरण सोधेको छ । दैनिक नेपाल अनलाईनले शनिबार मिलिजुली कालिञ्चोक सहकारीमा भएको अनियमितताको विषयमा समाचार प्रकाशित गरेको थियो । समाचारमा सहकारीमा करोडौं रूपैयाँ अपचलन गरेको, संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईश्वर न्यौपानेले योजनाबद्ध ढंगले संस्थामा वर्षौंदेखि आन्तरिक लुट मच्चाएको आरोप लगाइएको छ ।

यस्तै एक्सेस ब्राण्ड लिन योग्यता नपुग्दै सीईओ न्यौपानेले नेफ्सकुनका अधिकारीलाई २० लाख रूपैयाँ घुस खुवाएको र उनीहरूकै सहयोगमा छलछाम गर्दै सबै सूचक पूरा गराइ ब्राण्ड किनेको, संस्थाहरू एकीकरण गर्दा ती संस्थाका सञ्चालकलाई मोटो रकम दिई प्रलोभनमा पारी एकीकरणको घोषणा गर्ने गरेको, संस्थाको स्रोतसाधन दुरुपयोग गरेको, सहकारी मन्त्री र सहकारी विभागका रजिष्ट्रारलाई समेत आर्थिक प्रलोभनमा पार्ने गरेको, नेफ्स्कूनले न्यौपानेलाई पुरस्कृत गर्दा उच्च तहका कर्मचारी दुर्गा ढकाल र शिवजी सापकोटालाई राम्रै पैसा खुवाएको समाचारमा उल्लेख गरिएको छ ।

समाचारबारेमा कुनै सत्यता नभएको भन्दै नेफ्स्कून र मिलिजुली सहकारीले खण्डन गरिसकेका छन् । नेपालमा अक्कु र नेफ्स्कूनले एक्सेस ब्राण्डिङ कार्यक्रम संचालन गर्दै आएका छन् । गत वर्ष ८ वटा संस्थाले सिल्भर र २४ संस्थाले ब्रोन्च ब्राण्ड पाएका थिए ।

(नोट : यसअघि समाचारमा संचालक समितिलाई निलम्बन गर्न निर्देशन दिएको आशय प्रकाशित भएकोमा सच्याइएको ।)

यो पनि पढ्नुहोस् 

एक्सेस ब्राण्डका लागि आर्थीक लेनदको आरोपमा विभागले सोध्यो नेफ्स्कूनसँग स्पष्टिकरण

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ