काठमाडौं । तिहार बिदापछि लगातार उकालो लागेको सेयर बजारले नयाँ उचाई लिने सम्भावना देखिएको छ । मंगलबार करिव ३० अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८ सय भन्दा माथि उक्लिएसँगै बजारले नयाँ रेकर्ड कायम गर्न लागेको हो ।
मंगलबार नेप्से सूचक २९.६८ अंकले बृद्धि भई १८१०.११ अंकमा पुगेको छ । आज शेयर बजारमा बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको समूहमा खासै बृद्धि नभएपनि व्यापार, उत्पादन र बीमा समूहका कारण नेप्सेमा बृद्धि आएको देखिन्छ । अब बैंकिङ, विकास बैंक र फाइनान्स कम्पनीले केहि भरथेग गर्ने हो भने बजार नयाँ उचाईमा पुग्नेछ ।
चार वर्षअघि नेप्से १८८१ अंक पुगेर रेकर्ड कायम गरेको छ । त्यसपछि पुनः घटेर ११ सयमा झरेको थियो ।
मंगलबार १९६ कम्पनीका १ करोड १७ लाख कित्ता सेयरबाट ५ अर्व ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया