काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सहकारी संघसंस्थाको व्यवस्थापन तथा नियमन प्रभावकारी बनाउन सहकारी विभागलाई निर्देशन दिएका छन् । विभागको भूमिका कमजोर हुँदा सहकारी संस्थाहरुको तथ्यांक समेत पाइने छाडेको भन्दै उनले प्रतिफल आउने गरी काम गर्न निर्देशन दिए ।
सोमबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले गरेको एक कार्यक्रममा सचिव पाण्डेसँगै विभागका रजिष्टार डा. टोकराज पाण्डे पनि उपस्थित थिए । रजिष्टारलाई संकेत गर्दै सचिव पाण्डेले भने, विगत ४ वर्षदेखि कोपोमिसको कुरा सुन्दैछ, यो मलाई असाध्यै स्ट्राइक गरेको विषय हो । रजिष्ट्रार ज्यू तपाईको कोपोमिसले कहिलो रिजल्ट दिन्छ ? सहकारी संख्या, सदस्यता, बचत, कारोवार, कर्मचारीको संख्या, सहकारी संस्थाको प्रशासनिक खर्च लगायत विषयमा सबैले अनुमानका भरमा बोलेको भन्दै यस विषयमा विभागसँग लाईभ तथ्यांक हुनुपर्ने उनको भनाई थियो ।
सचिव पाण्डेले क्षेत्रको समग्र विकासका लागि सरकार र सहकारी अभियानबीचको गतिमा तादात्म्य आवश्यकता औल्याए । सरकारको गति स्लो भयो, यस्तो कार्यविधिहरु बनाउनुपर्छ भनेर नेफ्स्कूनले भन्नुपर्ने हो ? हाम्रो सरकारी प्रणालीको गति स्लो भयो । गतिमा गति मिलेन भनेर विवाद हुन्छ र विवादले विमति र विमतिले द्वन्द सिर्जना गर्छ र द्वन्दले विपत सिर्जना गर्छ त्यसैले अयिभान र सरकारबीच गति मिलाउनुपर्छ । आफु सचिव भएर आएदेखि नै सहकारी ऐन, नियमावली, कार्यविधि, मापदण्डहरुमा संगति नमिलेको स्वीकार्दै त्यसको संगति मिलाउन आवश्यक भैसकेको उल्लेख गरे ।
प्रतिक्रिया