काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले संचालन गरिरहेको सहकारीको स्तरिकरण कार्यक्रम प्रोवेशन ब्राण्डलाई सरकारले प्रमाणीकरण नगरेपछि सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघको शरणमा पुगेको छ । स्तरिकरण कार्यक्रमलाई महासंघबाट प्रमाणीकरण गर्नेगरी नेफ्स्कूनले छलफल अगाडी बढाएको छ ।
प्रमाणीकरणका विषयमा मंगलबार महासंघले सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा शिवजी सापकोटाले सहकारीको स्तरीकरण कार्यविधिको ड्राफ् प्रस्तुत गरेका थिए ।
सहकारीको स्तरिकण कार्यक्रमलाई सहयोग गर्नका लागि नेफ्स्कूनले आग्रह गरेपछि महासंघले यसबारेमा छलफल अघि बढाएको हो ।
नेफ्स्कूनले चार वर्षदेखि संचालन गर्दै आएको प्रोवेश ब्राण्ड प्रमाणीकरण कार्यक्रमबाट संघिय सहकारी विभागले यस वर्षबाट बाहिरिएको हो । ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि विभागका रजिष्टार डा. टोकराज पाण्डेले ब्राण्ड प्रमाणपत्रमा हस्ताक्षर गर्न अस्विकार गरेका थिए ।
विभागले अस्विकार गरेपछि यसवर्षबाट नेफ्स्कूनले मात्र प्रमाणीकरण गर्न थालेको छ । यस वर्ष ब्राण्ड पाएका ४० संस्थाहरुलाई नेफ्स्कूनले मात्र प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गरेको छ ।
यस्तै ब्राण्ड पाएका संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि विभागका रजिष्टार डा. टोकराज पाण्डेले गत वर्ष नै प्रमाणीकरणमा हस्ताक्षर गर्न अस्विकार गरेपनि सहकारी नेताहरुले दवाव दिएर हस्ताक्षर गराएका थिए ।
प्रोवेशन कार्यक्रमअन्र्तगत नेफ्स्कूनले २०७४, २०७५, २०७७ सालमा गरी तीन पटक संस्थाहरुलाई ब्राण्ड प्रदान गरिएको छ । पहिलो वर्ष विभागले हस्ताक्षर नगरेपनि दोस्रो वर्षको ब्राण्डमा तत्कालिन रजिष्टार केशव प्रसाद रेग्मीले र २०७७ सालको ब्राण्डमा रजिष्टार पाण्डेले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समयमा ब्राण्डका लागि सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाका साथै आर्थिक चलखेल समेत हुने गरेको समाचार सार्वजनिक हुन थालेको छ ।
नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्राडिङ कार्यक्रम एक्सेस २०६५ सालदेखि संचालन गर्दै आएका छन् । हाल यस कार्यक्रममा ६ दर्जन संस्थाहरु आवद्ध छन् । नेफ्स्कूनले नै सहकारी विभागसँगको सहकार्यमा प्रोवेशन र आफैले मात्र कव्र्स समेत संचालन गरिरहेको छ । दुवै कार्यक्रममा गरी ५ सय हाराहारीमा संस्था आवद्ध रहेका छन् । यसैगरी गत वर्षवाट राष्ट्रिय सहकारी बैंकले समेत एससिविएल केयर नाममा ब्राण्डिङ कार्यक्रम सुरु गरेको छ ।
गुणस्तर सुनिश्चितता गर्नका लागि संचालन गरिएका कार्यक्रममा सहभागितामा सहकारीको आकर्षण बढ्दै गएपनि ब्राण्ड लिनका लागि भएका चलखेलका कारण विश्वसनियतामा भने प्रश्न उठ्न थालेको छ । ब्राण्डका लागि संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेको, आर्थिक चलखेल भएका, संस्थाको छनोट र लेखापरिक्षण पारदर्शी नभएको र संचालक समितिको हस्तक्षेप भएका जस्ता घटनाहरु सार्वजनिक हुन थालेका छन् ।
प्रतिक्रिया