काठमाडौं । कोभिड–१९ को महामारीक कारण विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रका सूचक पनि ओरालो लागेका छन् । विश्व बैंक, एसियाली विकास बैंकहरुले आर्थिक वृद्धिदर शुन्य प्रतिशतमा झर्ने प्रक्षेपण गरिसकेका छन् । कोभिडको प्रभावकै कारण सेयर बजारमा सूचिकृत कम्पनीको आर्थिक सूचक नकारात्मक हुन थालिसकेको छ । तर, यस्तो बेला अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने लगातार उकालो लाग्न थालेको छ ।
नेपाली सेयर बजार परिसूचक (नेप्से) बुधबार २०७१.०२ अंकमा पुगेको छ । यसैगरी ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।
तिहार विदायता सेयर बजार उच्च अंकले बृद्धि हुनुका साथै बजारमा कारोबार पनि उच्च भइरहेको छ । मंसिर १४ गते (आइतबार) हालसम्मकै उच्च ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार थियो ।
कुनै आधारबिना नै बजार लगातार उकालो लागेसँगै नयाँ तथा साना लगानीकर्ताहरु जोखिममा पर्न थालेका छन् ।
ठूला व्यापारीहरुले क्षणिक समयका लागि बढाएको बजारमा उत्साहित भई प्रवेश गर्ने साना तथा नयाँ लगानीकर्ताहरु समस्यामा पर्ने विश्लेषकहरु बताउछन् ।
यतिवेला लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा व्यापारीहरुले आफुसँग भएको रकम छोटो समयका लागि सेयरमा लगानी गर्न थालेका छन् । जसको कारण बजार सूचक वृद्धि भएको छ भने कारोबार पनि उच्च भइरहेको छ ।
यसैगरी बैंकहरुसँग समेत तरलता बढि भएकाले लगानी गर्न नसकि मार्जिन लेन्डिङ कर्जालाई प्राथमिकता दिएका कारण पनि बजारमा लगानी बढिरहेको छ ।
बजार उच्च अंकले बृद्धि हुनथालेपछि नेपाल धितोपत्र बोर्डले समेत विज्ञप्ती जारी गरी लगानीकर्ताहरुलाई सचेत भएर मात्र लगानी गर्न सुझाव दिइसकेको छ ।
प्रतिक्रिया