काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको छ । सो कर्जा भोलिदेखि अर्थात् पुस २० गतेदेखि लागु हुने बैंकले जनाएको छ ।
गत भदौदेखि नै बैंकले आफ्नो कर्जा एकल अंकमा झारेको थियो । बैंकको बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको थियो ।
बैंकले कर्जाको न्यनतम व्याजदर तोकेसँगै ४ प्रकारका लोनको प्रोडक्ट पनि तयार पारेको छ । सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जामा बैंकले न्युनतम ७.५ प्रतिशतदेखि ९.५ प्रतिशतसम्म व्याज लिने जनाएको छ । बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन ।
त्यस्तै बैंकले सेवा शुल्क पनि घटाएर ०.५ प्रतिशत कायम गरेको छ । सहकारी क्षेत्रको कुनै पनि संघ संस्थाले ब्याजको कारण कर्जाको लागि अन्य निकायमा जानु पर्ने अवस्था हटाउने र संरक्षित पूँजीफिर्ता कोषको फाइदा र महत्व अनूभूति समेत गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।
बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पूँजीफिर्ताकोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाख भन्दा बढी रकम भुक्तान गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
प्रतिक्रिया