वि.सं. २०८१ माघ २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रस्तावित नेपाल सहकारी संस्थाको प्रारम्भिक भेला सम्पन्न,अध्यक्ष भण्डारी भन्छन्,“सदस्यलाई विकल्प सहितको गुणस्तरीय सेवा प्रबाहको लागि अर्को बैंक”

अर्थटुडे
२०७७ माघ १९, सोमबार

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको प्रारम्भिक भेला शनिवार काठमाडौंमा सम्पन्न भएको छ । सो भेलाले नेपाल बहुदेश्यीय सहकारी केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भन्डारीको अध्यक्षतामा २५ सदस्यीय सन्चालक समिति गठन गरेको छ । साथै सो भेलाले अध्यक्ष भन्डारीलाई नै बैंक दर्ता प्रक्रियाको कामको जिम्वेवारी समेत सुम्पेको छ ।


बैंकको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै नेपाली काग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन प्रस्तावित नेपाल सहकारी बैक अपरिहार्य रहेको बताए ।

उनले सहकारी क्षेत्रको लागि एउटा मात्र सहकारी बैंक (राष्ट्रिय सहकारी बैंक)ले सहकारी क्षेत्र समेट्न नसकेको टीप्पणी गर्दै स्वस्थ प्रतिष्पर्धाको लागि पनि नयाँ सहकारी बैंक चाहिने दावी गरे ।
उनले भने–“प्रकृया पुर्याएर नयाँ सहकारी बैंक दर्ता गर्नका लागि अगाडी बढ्नुहोस् त्यसमा हाम्रो साथ र सहयोग हुनेछ ।”

नयाँ सहकारी बैंकको आवश्यकता र औचित्यको बारेमा थप स्पष्ट गर्दै प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले अर्थटुडेसँग भने,“एकातिर बजारमा प्रतिपष्र्धी नहुदा एउटा मात्र बैंकको मोनोपोली हुन्छ। अर्कोतिर सहकारी संस्थाहरुसँग विकल्प नहुदा जस्तो सेवामा पनि चित्त बुझाउनुपर्ने बाध्यता हुन्छ । तर नयाँ सहकारी बैंक खोलेपछि सेवा र गुणस्तरमा प्रतिष्पर्धा हुनेछ र सहकारी संस्थाहरुले विकल्प सहितको गुणस्तरी सेवा पाउनेछन् ।” उनका अनुसार हाल नेपालभर एउटा मात्र सहकारी बैंक हुदा सो बैंकले मोनोपोली गरिरहेको छ ।


‘बजारमा आफ्नो प्रतिष्पर्धी नहुदा जोकोहीलाई पनि दौडने वा दु्रत गतिमा अगाडी बढ्ने मन हुदैन सहकारीको हकमा पनि त्यस्तै भइरहेको छ। एउटा मात्र बैंक हुदा सहकारी बैंकले आफ्नो सेवाको गुणस्तरलाई समयानुकुल चुस्त दुरुस्त बनाउन सकिरहेको छैन । सदस्यलाई जवर्जस्त एउटै बैंकबाट मात्र सेवा लिनुपर्ने बाध्यता छ । तर अर्को बैंक खोल्न सकेमा सहकारीहरुसँग विकल्प हुन्छ, बजारमा प्रतिष्पर्धा हुन्छ भने हाल भइरहेको बैंकपनि प्रतिष्पर्धाका लागि अगाडी आएर आफ्नो सेवाको गुणस्तर बृद्धि गर्छ । यसको फाइदा अन्ततः सहकारी संस्था र त्यसका सदस्यहरुलाई नै पुग्ने हो ।’ भन्डारीले भने ।

भन्डारीले सहकारी सदस्य र संस्थाहरुलाई प्रोफेसनल बनाउन, प्रतिष्पर्धाबाट सेवामा गुणस्तर बृद्धि गर्त र सहरीहरुलाई विकल्प सहितको छनौटको सुविधा दिनका लागि पनि नयाँ बैंकको स्थापना जरुरी रहेको र आफूले त्यसको नेतृत्व लिएको बताए ।

उनले सहकारी ऐन, नियमावली अनुसार नै सहकारी बैंक स्थापना गर्न लागिएको दावी गर्दै ११ सय सहकारी संस्थाहरुको हस्ताक्षर सहित नयाँ सहकारी बैंकको माग भएकोले नेपाल सहकारी बैंक स्थापना गर्न लागिएको र यसका लागि सम्पुर्ण निकायले सहयोग गरिरहेको जानकारी दिए ।

भण्डारीका अनुसार हाल भइरहेको सहकारी संस्थामा राजनीति हावी भएर व्यवसायिक रुपमा नचलेको कर्जा लगानीमा विभेद भएको लगायतका विभिन्न कारणले नयाँ सहकारी बैंकको आवश्यकता महसुस भएको र नयाँ स्थापना हुने सहकारी बैंकले सवैलाई समान दृष्टिकोण राखी अगाडी बढ्ने बताए ।

यता राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेति भने तत्कालका लागि भने अर्को सहकारी बैंकको आवश्यकता नभएको बताउँछन् । उनी भन्छन्,‘अर्को बैंक खोल्न त सवैले सक्छन् । तर त्यो बैंक सस्टेन गर्ने ठुलो कुरा हो । हाल नेपालका सहकारीहरु पुर्ण रुपमा व्यवसायिक भइसकेका छैनन् । हामीलाई नै कसरी सस्टेन गर्ने भन्ने भइरहेको बेलामा नयाँ बैंक खोल्नु भनेको भएको विजनेशलाई पनि बाडेर दुवै मरणासन्न अवस्थामा पुग्नु हो । यसले दुवैलाई फाइदा गदैन ।’

हाल नेपालमा करिव ३० हजारको हाराहारीमा सहकारी संस्था रहेको र १० खर्ब बराबरको कारोबार भएको तथ्यांक सहकारी विभागले केही दिन अघि सार्वजनिक गरेको थियो । शनिवार भएको प्रारम्भिक भेलामा भने धेरैजसो नेपाली कांग्रेस निकट सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

भेलामा पुर्व अर्थ राज्यमन्त्री एवं नेपालीका काग्रेसका नेता उदयशम्सेर राणा, पुर्व गभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले अहिलेको अवस्थामा एउटामात्र सहकारी बैकले काम गर्न नसकेको सो बैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैक स्थापना गर्ने काम थालेकोमा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ