काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युएनएफ्पिए)ले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयलाई ६ हजार ४८सेट व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल, चीन र यूएनएफपिएबीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब तीन करोड रुपैयाँ मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरी यूएनएफपिएले सरकारलाई दिएको हो ।
यस सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पु¥याउने युएनएफ्पिएले जनाएको छ ।
प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् जसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने पनि युएनएफपीएद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा यूएनएफपिएद्धारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरु र यूएनएफपिए प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
उक्त सामग्री प्राप्त गरिसकेपछि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले भने, “कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ । हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तर छ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रित छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेको छ । हामी चीन सरकार र यूएनएफपिए प्रति आभारी छौँ ।”
मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ । “स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुदाँ महिला र किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदान गर्न सहज हुने वास्तविकता सर्वविदितै छ ।डा.पोखरेलले भने ।
‘नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमको सहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि यूएनएफपिए प्रतिनिधि लुब्ना बाकिले भने’।
यस अघि पनि नेपाल, चीन र यूएनएफपिए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत १२ सय सेट पिपिइ र २६ सय थान स्यानिटाइजर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।
यूएनएफपिएद्धारा सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
२०७७ फाल्गुन १९, बुधबार

प्रतिक्रिया