काठमाडौं –राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७६-०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेको छ ।
बैंकले सोमबार सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आफ्ना १२ हजार ४६ सदस्य सहकारी संघ-संस्थालाई संरक्षित पुँजी फिर्ता कोषबाट वितरण गरिने रकम सम्बन्धीत खातावालाको खातामा नै राखिदिने व्यवस्था मिलाएको जनाएको छ ।
बैंकले बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।
बैंकले १२ करोड ७३ लाख रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई वितरण गरेको छ । बैंकका अनुसार बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले ४३ लाखसम्म र कर्जा तर्फ १२ लाख १८ हजार सम्म प्राप्त गरेका छन् । त्यस्तै बैंकका अनुसार .५० हजार रुपैयाँभन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ-संस्थाहरु ५२२ रहेका छन् ।
यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ-संस्थाहरुलाई आ.व. २०७६-०७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरि १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया