काठमाडौं । भन्सार विभागले कोभिड –१९ रोकथाम र उपचारमा प्रयोग हुने वस्तुको आयात गर्दा भन्सार जाचपास छिटो गर्ने भएको छ । भन्सार विभागले कोभिड–१९ रोकथाम तथा उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि कार्यान्वयन गर्दै मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिन्डरलगायत सामान छिटो जाचपास गर्ने व्यवस्था गरेको हो ।
कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयात गरी भन्सारबाट छुटाउनको लागि प्रज्ञापन पत्र साथ पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने अधिकार प्रदान गरिएको छ । भन्सार अधिकृतले जाँचपास गर्दा अध्यावश्यक वस्तुलाई प्राथमिकता दिनुपर्ने कार्यविधिमा उल्लेख छ । यसको लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीसहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउनुपर्ने उल्लेख छ ।
“आपूर्ति व्यवस्थालाई सहज र शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि सार्वजनिक बिदाको दिनमा पनि यात्रु जाँचपासकक्ष वा काउन्टरबाटसमेत अत्यावश्यक मालवस्तु जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ,” कार्यविधिमा भनिएको छ ।
प्रतिक्रिया