काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको व्याजदर वृद्धिलाई लगाम लगाएको छ । मंगलबार बैंक बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै बैंक तथा वित्तिय संस्थाले अघिल्लो महिनामा प्रकाशित व्याजदरभन्दा १० प्रतिशत भन्दा बढीले परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो ।
बजारमा तरलता अभावका कारण बैंकहरुले कात्तिक महिनाको व्याजदर अत्याधिक वृद्धि गरेका थिए । बैंकहरुले सोमबारदेखि लागु गर्न भनेर प्रकाशित गरेको व्याजदर बुधबारभित्रै संशोधन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
व्याजदर वृद्धिको अत्यधिक आलोचना भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई मंगलबार साँझ जारी गरेको तीनबुँदे निर्देशनमा परिवर्तित व्याजदरको बारेमा वेवसाइट मार्फत ग्राहकलाई जानकारी दिन तथा कात्तिक ५ गतेभित्र संशोधित व्याजदर दैनिक पत्रपत्रिकामा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले यसरी निर्देशन नै दिएर व्याजदरमाथि लगाम लगाएको यो पहिलो पटक हो । तीनबर्ष अघि तरलता अभाव भएको भन्दै बैंकहरुले व्याजदर ह्वात्तै बढाउदा लिखित निर्देशन दिन राष्ट्र बैंकले नमानेपछि बैंकर्स संघमार्फत भद्र सहमति गरिएको थियो ।
मंगलबारको निर्देशनमा बैंकहरुले संस्थागत मुद्धति निक्षेप व्यक्तिगत मुद्धति निक्षेप भन्दा एक प्रतिशतले कम हुनुपर्ने व्यवस्था पनि गरेको छ । अब संस्थागत निक्षेपमा बैंकहरुको प्रतिस्पर्धा कम हुने र सर्वसाधारणलाई फाइदा हुने भएको छ ।
प्रतिक्रिया