काठमाडौँ । राजस्व अनुसन्धान विभागले पाँच जना विरुद्ध २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध राजस्व छली गरेको आरोपमा उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो । ढकाल दम्पत्ति सहित सान्टु र आसान इन्टरनेशनल प्रा.लिका सन्चालक हुन् भने श्रेष्ठ कम्पनीको लेखापरिक्षण हुन् ।
सो कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजी, नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विवरण, वित्तीय विवरण तथा आयविवरण तयार पारी फर्मबाट कारोबार शून्य देखाएर राजस्व छलेको कसुरमा मुद्दा दायर गरेको विभागले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
विभागका अनुसार उनीहरुले मूल्य अभिवृद्धिकर तर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांश तर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी कूल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको गरेको अनुसन्धानबाट खुलेको छ । त्यसैले विभागले सोही बराबरको विगो दावी सहित मुद्धा दायर गरेको हो ।
ढकाल दम्पत्ती बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका हुन् । शोभाकान्त ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार समेत रहेको उनी हाल डिल्लीबजार कारागारमा छन् । ललिता निवास प्रकरणको किर्तेमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि ढकाल दम्पतीसहित ३ सयभन्दा बढीलाई मुद्दा दायर गर्नुपर्ने निष्कर्ष समेत निकालेको थियो ।
प्रतिक्रिया