झापा । कन्काई नगरपालिका ८ झापाका ७५ बर्षीय लेखनाथ दाहाल साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले बनाइदिएको जेष्ठ नागरिक चौतारी सेन्टरमा आफू सरहका जेष्ठ नागरिकहरुसँग गफिदै गरेको भेटिए । करिव ११ बजेतिर पुगेको हामीसँग उनी गफिदै भने, “सहाराले बनाइदिएको यो भवनमा बसेर हामीले हाम्रा अतितका रोमाञ्चकारी कुराहरु एक आपसमा सेयर गर्ने गरेका छौ, पुरानो यादले यौवन अवस्थामा नै फर्केको भान हुन्छ ।”
“सहारा” हाम्रो लागि बुढेसकालको साच्चिकै ‘साहारा’ बनेको छ, हास्दै अर्का ७२ बर्षिय गणेश बहादुर थापाले भने, “जेष्ठ नागरिक चौतारी’ नभएको भए हामीले कहाँ गएर गफिन पाउनु ? यसले समय कटाउन र सुख दुख एक आपसमा बाडेर मन हलुका बनाउनका लागि ठूलो भुमिका खेलेको छ।” ‘साच्चै भन्ने हो भने मनभरीका पिडा आएर विसाउने ठाउ बनेको छ चौतारी,’ अर्का जेष्ठ नागरिक सुर्य खनाल भन्छन्,कहिले काँही त उनीहरु छोरा बुहारीले हेला गरेको कुरा पनि सेयर गर्ने गर्छन् ।
यस्तो हुदा छोरा बुहारीलाई अरु जेष्ठ नागरिक गएर सम्झाउने वा बुढावुढीलाई सम्झाउने पनि गरेका छन् । जसले गर्दा घरमा एक आपसमा बैमनस्यता कम भइ माया झांगिने मौका पनि पाएका कयौ उदाहरणहरु रहेको उनीहरुको अनुभव छ। जेष्ठ नागरिक चौतारीमा महिलाहरु पनि आउने गर्छन् । उनीहरु भजन, संगिनी गाउने गर्दछन् । जसले उराठ भएको बुढ्यौली मनलाई चंगा बनाउने काम गर्छ ।
कन्काइ ८ मा मात्र हैन । साहारा साकोसले झापाका १३ वटा स्थानमा जेष्ठ नागरिक चौतारी बनाएको छ । जहाँ स्थानीय निकायले पनि सहकार्य गर्ने गरेको छ । चौतारीमा ६५ बर्ष नाघेका वेष्ठ नागरिकहरु आउने, खाजा खाने, भजन भन्ने, धार्मिक कथाहरु पढ्ने, टिभी हेर्ने, गफ गर्ने, संगिनी भन्ने जस्ता कामहरु गर्ने गरेका छन् । साहाराले चालु आर्थिक बर्षमा थप १० वटा जेष्ठ नागरिक बनाउने योजना बनाएको सहारा साकोसका प्रमूख कार्यकारी महेन्द्र गिरीले सुनाए ।
त्यस्तै सहारा साकोसले स्थानीय सरकार र हेल्भेटास नेपालसँग मिलेर झापा जिल्लामा नै सुकुम्बासीहरुको लागि एकीकृत नमुना बस्ती पनि बनाएको छ । जसको उद्घाटन पुर्व प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका थिए । घरबार विहिनहरुलाई घर बनाउन सहयोग गरेर साहारा साकोस पुण्यको काम गरेको बताउँछन् ७२ बर्षिय रामदेव चौधरी । सहाराको प्राविधिक सहयोगमा स्थानीय सरकार र हेल्भेटास नेपालले एक विघा २ कठ्ठा १० धुरमा ३७ वटा घरहरु बनाएको छ । सो घरहरुमा सुकुम्बासी कमैयाहरु बस्ने गरेका छन् ।
यी त उदाहरण मात्र हुन् सहारा नेपालले आफ्ना सदस्यहरुको हितका लागि झापामा निक्कै उदाहरणीय कामहरु गरेको छ ।
सहारा साकोसका प्रमूख कार्यकारी अधिकृत महेन्द्र गिरीका अनुसार हाल साहारा साकोसको सेयर सदस्य संख्या एक लाख ५५ हजार पुगेका छन्, भने पुस मसान्तसम्ममा १४ अर्ब रुपैयाँको व्यालेन्ससिट पुगेको छ । आफ्ना सेयर सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने निकाय सहकारी भएकोले आफूहरुले सदस्यको हितलाई नै ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु मार्फत सदस्यहरुको सेवा गरिरहेको उनको दावी छ ।
साहाराले सदस्यको लागि सामाजिक सुरक्षा योजना अन्तर्गत सदस्य पोषण भत्ता, जेष्ठ सदस्य सम्मान भत्ता, दीर्घायु सदस्य भत्ता, एकल महिला भत्ता र एकल पुरुष भत्ता समेत प्रदान गर्ने गरेको छ । यी कार्यक्रमहरुमा कम्तीमा बार्षिक ६ हजार रुपैयादेखि ८ हजार रुपैयाँसम्म दिने गरेको छ ।
त्यस्तै सदस्य संरक्षण योजना अन्तर्गत भरोसा, हौसला, स्मृति, आश्रय र परिवार राहत कार्यक्रमगरी पाँचवटा कार्यक्रमहरु संचालन गरिरहेको छ । जुन कार्यक्रमले सदस्यहरुको मृत्यु भएमा बच्चा बढाउनेदेखि लिएर घर बनाइदिने आश्रित परिवारलाई जीवन यापनका लागि केही रकम दिने समेत गरेको छ ।
त्यस्तैगरी सदस्यहरुको स्वास्थलाई ख्याल राख्दै सहाराले स्वास्थ सेवा योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत सुत्केरी पोषण कार्यक्रम, फार्मेसी संचालन, वेलनेस सेन्टर संचालन, सिनियर सिटिजन्स हेल्थ केयर, जीवन बरदान, एम्वुलेन्स सेवा संचालन जस्ता कार्यक्रमहरु रहेका छन् ।
त्यस्तै सहारा साकोस उत्पादनसँगै वितरण र उपभोगसम्मको मुल्य श्रृङ्खलामा पनि जोडिएको छ । संस्थाले अर्को सहकारीसँग मिलेर मौरी उद्योग संचालन गर्ने, कृषि आय आर्जनका लागि सदस्यहरुलाई ऋण प्रदान गर्ने, पशुलाई सुत्केरी भत्ता दिने र ‘म पनि उद्योगी’ अभियान संचालन गर्ने लक्ष्य राखेको पनि कार्यकारी अधिकृत गिरीले जानकारी दिए ।
उनका अनुसार सहारा साकोसले कोभिड–१९ को समयमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एकका लागि एक’ अभियाले संचालक गरेको अक्सिजन बैंक स्थापनाका लागि १०० वटा सिलिन्डर खरिद गर्न आर्थिक सहयोग गरेको, कम व्याज दरमा सहज ऋण उपलव्ध गराएको, कोभिड पोजिटिभ भई होम आइसोलेसनमा रहेका सदस्यहरुलाई ४ हजार प्याकेट कोभिड पोषण सामग्री उपलव्ध गराएको थियो ।
त्यस्तैगरी आइसोलेसनमा बसेको अवस्थामा दिनको ५०० का दरले १४ दिनको प्रति सदस्य ७००० रुपैयाँ सहयोग उपलव्ध गराएको, कोरोना भएकाहरुको हकमा प्रति सदस्य ३ लाख रुपैयाँसम्मको औषधोपचार सुविधा दिएको पनि उनले जानकारी दिएका छन् ।
त्यस्तै सहाराले साकोसले तराईमा हुने सवैभन्द ठुलो समस्या सर्पदंश भएकोले त्यसको उपचारका लागि सर्पदंश सेवा केन्द्र स्थापना गरेको छ भने अक्सिजन बैंक स्थापना र कोरोना परिक्षण केन्द्र स्थापनाको लागि ठूलो योगदान पनि गरेको छ । त्यस्तै सहाराले विद्यालय खोल्नका लागि पनि पहल गरेको थियो तर शिक्षा ऐनले रोकेका कारण उनीहरुले एक गुठी बनाएर विद्यालय संचालन गरिरहेका छन् । आफूहरुले सदस्यलाई केन्द्रित गरेर उनीहरुका छोराछोरी सहुलियत मुल्यमा पढाउने कोसिस गरेपनि शिक्षा ऐनले रोकेका कारण सो काम गर्न नसकिएको गिरीले जानकारी दिए ।
नेपालको सवैभन्दा ठूलो सेयर सदस्य र कारोबार रकम भएको सहकारी सहाराले उदाहरणीय काम गरेको राष्ट्रिय सहकारी महासंघका संचालक केवी उप्रेति बताउछन् । उनले भने, ‘सहारा नेपालले सदस्यको हितका लागि उदाहरणीय काम गरेको छ, यसबाट अन्य सहकारीहरुले पनि सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्न सिक्न जरुरी छ ।’ त्यस्तै सहकारी विभागका पुर्व रजिष्टार डा.झलकराम अधिकारीले पनि सहारा नेपालले साच्चै उदाहरणीय काम गरेको जानकारी आफूले पनि पाएको बताउँदै अन्य सहकारीहरुले साहाराको कामको अनुसरण गर्नुपर्ने धारणा राखे ।
कार्यकारी अधिकृत गिरीले साहारा नेपालले गत बर्ष अन्तराष्ट्रिय स्तरको ब्रान्ड स्मार्ट सर्टिफिकेसन पनि प्राप्त गरेको जानकारी दिए ।
गत आर्थिक बर्षका साहारा नेपालले आफ्ना सेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांस बापत १० करोड ६९ लाख ६० हजार ४१६ रुपैयाँ वितरण गरेको छ । भने संरक्षित पुँजीकोषबाट ४ करोड ८७ लाख ०२ हजार ८३० रुपैयाँ सदस्यहरुलाई फिर्ता दिएको छ ।
झापाबाट फर्केपछिको स्थलगत रिपोर्ट
प्रतिक्रिया