काठमाडौँ । अर्थमन्त्री डा. रामशरण महतले बेलायती लगानीकर्ताहरुलाई नेपालमा संयुक्त लगानी गर्न आग्रह गरेका छन् । बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरको नेतृत्वमा नेपाल आएको व्यापारिक प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री डा. महतले लगानीकर्ताहरुलाई सो आग्रह गरेका हुन् ।
उनले नेपालमा राजनीतिक वातावरण अनुकूल बन्दै गएको र छिमेकी देशको कोटारहित तथा भन्साररहित ठूलो बजार पाउन सकिने भएकोले नेपालमा लगानी गरेर प्रचूर लाभ लिन सकिने बताए ।
आगामी तीन बर्षभित्रमा नेपालमा लोडसेडिङको अन्त्य हुने जानकारी दिदै अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्दा न्युन लागत पर्ने र अत्यधिक लाभ लिन सकिने समेत भेटका क्रममा बताएका थिए ।
बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले नेपालमा अव शान्ति स्थापना भैसकेकोले लगानीकर्ताहरु आउन इच्छुक भएको जानकारी गराएका थिए । उनले लगानीका लागि अन्य देशहरु पनि भएकोले नीति नियमहरु यहाँ लगानी आकर्षित गर्ने गरी प्रतिस्पर्धी हुनुपर्नेाम समेत अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए ।
राज्यमन्त्रीसँग आएका लगानीकर्ताहरुले आफूहरु नेपालको वातावरण देखेर लगानीका लागि उत्साहित भएको बिचार व्यक्त गरेका थिए । सो अवसरमा नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्कस्ले नेपाललाई बेलायतले दिदै आएको सहयोग जारी रहने र लगानीकर्ताहरुलाई सहज वातावरण दिलाउन आगामी दिनमा ठूलोस्तरमा छलफल गर्न सकिने बताए ।
प्रतिक्रिया