मंसिर पहिलो सातामा बाणिज्य बैंकहरुको निक्षेप ८ अर्व रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्व निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्व रुपैयाँ वृद्धि भएको छ ।
मंसिर तीन गतेसम्ममा बाणिज्य बैंकहरुले ४२ खर्व २६ अर्व निक्षेप संकलन गरी ४० खर्व ४१ अर्व कर्जा लगानी गरेका छन् ।
निक्षेप संकलन घटेपनि कर्जा लगानीमा आक्रामक भएपछि बैंकहरुको कर्जा र निक्षेपमा असन्तुलन भई बजारमा तरलता अभाव छ । बाणिज्य बैंकहरुको सिडि रेसियो (कर्जा–निक्षेप अनुपात) राष्ट्र बैंक तोकेको भन्दा माथि पुगेको छ । मंसिर महिनाको पहिलो साता बाणिज्य बैंकहरुको सिडि रेसियो ९०.५७ प्रतिशत रहेका एसोसिएसनले जनाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिबाट सिसिडी अनुपातको व्यवस्था खारेज गर्दै सिडि अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने प्रावधान कार्यान्वयन गरेको थियो । पुँजीबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरुले तरलता अभाव भोगिरहेका छन् ।
रेमिट्यान्स आप्रवाहमा निरन्तर कमी, सरकारको कमजोर पुँजीगत खर्च, उच्च आयात र व्यापारघाटा आदी कारणले बैंकमा निक्षेप बढ्न सकेको छैन । तर, कोरोना महामारी कमभएसँगै आर्थिक क्रियाकलापमा आएको वृद्धि, आयात निर्यात व्यापारको वृद्धिलगायतका कारण बैंकमा कर्जाको माग उच्च भएको बैकर्सले जनाएको छन् ।
चालु आवमा ३२ अर्व निक्षेप बढ्दा कर्जा लगानी भने ३ खर्व १३ अर्व भएको छ ।
तरलता अभाव भएसँगै बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी सिडी रेसियोका साथै तरलता अनुपात (एलआर) र अनिवार्य नगद मौज्दात (सिआरआर) कायम गर्नुपर्ने प्रावधानमा लचकता अपनाउन आग्रह गरिसकेको छ ।
प्रतिक्रिया