वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामु गभर्नर ढुङ्गानाको आग्रह : तरलताको समस्या क्षणिक हो, धैर्य गर्नुहोस्

अर्थटुडे
२०७८ चैत्र २९, मंगलवार

काठमाडौं । कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले तरलताको समस्या क्षणिक भएको भन्दै धर्य गर्न आग्रह गरेकी छिन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदरको उतारचढावले समग्र अर्थतन्त्र र सर्वसाधारणले पिडा भोग्नुपरेको भन्दै समस्या छिट्टै समाधान हुने उल्लेख गरिन् ।

‘समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्था छ । बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छैन । ब्याजदरको समेत समस्या रहेको छ’ उनले भनिन् ‘व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् । लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् । “लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरुलाई जनाउँछ, जसले उनीहरुलाई स्वरोजगारका अवसरहरु विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुयाउँछ” उनले भनिन् ।

नाफा कमाउने होडमा लघुवित्त संस्थाहरु लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको साथर्ककता होइन ।

लघुवित्तले महिलाहरुको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको उनले बताइन । “पुरुषहरुको अनुपातमा महिलाहरुको रोजगारीलगायत आयआर्जन हुने क्षेत्रमा सहभागिता कम रहेतापनि लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण विपन्न बर्गका महिलाहरुलाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्” उनले भनिन्, “औपचारिक रोजगारी वा जीविकोपार्जनका वैकल्पिक अवसरहरुको अभावले मुलुकको आर्थिक विकासमा महिलाहरुको सहभागितालाई सिमित बनाएको सन्दर्भमा अघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराउन अभिप्रेरित गर्दै आएका छन् ।”

कायममुकाय गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराइन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या १ लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन । महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको छ । लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ ।
यद्यपी महिलाहरुसंग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवासय थालनी गर्दा आवश्यक हुने कर्जाको धितो समेतको अभाव भएको देखिएको उनले बताइन् । “कुल पुरुषको जनसंख्या मध्ये ५६ प्रतिशत पुरुषहरुको वित्तमा पहुंच रहेको छ भने महिलाहरुको कुल जनसंख्या मध्ये मात्र ३६ प्रतिशत पहुंच रहेको छ । आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था छ” उनले भनिन् ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिए । उनले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाई गर्नुपर्ने बताए । “नाफा कमाउने होडमा लघुवित्त संस्थाहरु लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको साथर्ककता होइन । लघुवित्त कमाउ धन्दामा फस्नु भएन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२-२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु । त्यसैले संख्यात्मक बृद्धि गर्न सदस्य खोसाखोस नगरौं” उनले भने । बहुँकर्जाले लघुवित्तलाई अल्मल्याएको उनको भनाई छ ।

लघुवित्त सेवाको संस्कार गिर्दो अवस्थामा रहेको भन्दै उनले समयमै सच्चिन आग्रह गरे । ‘सक्षम’ नामक विदेशी परियोजनाले जथाभावी लघुवित्तको शाखा बढाउन लगाएको समेत उनले बताए । उनले अरुको भड्काउन नलाग्न आग्रह गरे । “अरुको खुट्टामा उभिने होइन । हामी आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । आत्ममूल्यांकन गरौं, हामी सक्षम छौं, गन्तव्यमा पुग्छौंं” उनले भने ।

उनले लघुवित्तहरु स्वःनियमनमा बस्नुपर्ने आवश्यकता औल्याए । “पुरानो ढर्राबाट अब चल्न हुँदैन । अहिले नै सचेत बन्नुपर्छ । ढिला गर्न हुँदैन । स्वः नियममा बस्न अरुले निर्देशन दिन पर्दैन । राम्रो कामका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुर्नु पर्दैन” उनले भने ।

सम्मेलन उद्घाटनमा आउने कार्यक्रम भएपनि निर्वाचन आचारसंहिताका कारण आउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन सफलताको शुभकामना पठाएका थिए । शुभकामना दिदै उनले देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तहरुले स्थानीय उत्पादनमा बृद्धि गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको बताए । उनले स्थानीय तहका नागरिकहरुलाई बचत र लगानीमा प्रोत्साहन गर्दै आयआर्जनमा बृद्धि गरेर सम्रगमा मुलुकको आर्थिक अवस्थालाई चलायमान गराउन लघुवित्तहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ