काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दिनमा बैैंक तथा वित्तीय संस्थाहरुको कर्जा उत्पादनशिल क्षेत्रमा लैजान जोड दिने भएको छ । बढ्दो आयात, उच्च शोधानान्तर घाटा, घट्दो वैदेशिक मुद्रा संचिती र बढ्दो मुद्रास्फितीले दवावमा रहेको केन्द्रीय बैंकले आन्तरिक उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धनलाई सघाउ पुग्नेगरी वित्तीय स्रोतलाई परिचालन गर्ने संकेत गरेको हो ।
शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै केन्द्रीय बैंकले आगामी दिनमा निम्नअनुसार मौद्रिक नीतिको कार्यदिशा रहने स्पष्ट पारेको छ :-
- मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।
- कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।
- आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ ।
मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ । - मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइनेछ ।
प्रतिक्रिया