वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धेरै भोट भएको नेपाल आइसिएको बोर्डमा जान किन डरायो ?

अर्थटुडे
२०७९ असार ६, सोमबार

काठमाडौ–अन्तराष्ट्रिय सहकारी महासंघ (आइसिए)को ग्लोवल बोर्डमा जान नेपाल डराएको छ । आइसिए बोर्डको नयाँ कार्यसमिति सोमबार निर्वाचित हुदैछ। विश्वभरबाट करिव ७ सय प्रतिनिधि यतिवेला स्पेनको स्लेभियामा पुगेका छन् ।विश्वभरबाट सवैभन्दा बढी भोटर भएको देश हो नेपाल । नेपाल, ब्राजिल र भारतको बराबर २५ मत छ ।

नेपालको बराबर मत भएको भारतबाट आइसिए एसिया प्रान्तको अध्यक्षमा डा.चन्द्रपाल सिंह रहेका छन् भने ग्लोवल बोर्ड सदस्यको लागि आदित्य यादवले पुनः उमेदवारी दिएका छन् । नेपालले भने यसपाली उमेदवारी दिन डराएको छ ।

ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले यसपटक आफू नउठ्ने तर देशको अरु कोही उठेमा सहयोग गर्ने भनेपछि अरु बोर्डको सदस्य लड्न डराएका हुन्। ओमदेवी मल्लको इमेज सहकारीको अन्तराष्ट्रिय स्तरमा निक्कै राम्रो छ । उनलाई पुनः बोर्ड सदस्य दोहोर्याउनका लागि विभिन्न देशले आग्रह गरिरहेका थिए । उनी बोर्डमा गएमा इरान, भारत, चिन, मलेसिया, अमेरिका, युरोप र अध्यक्ष एरियल ग्वार्कोले समेत सहयोग गर्ने बचन दिएका थिए ।

तर ग्लोवल बोर्डको सदस्य भएपनि देशको तर्फबाट कुनै सहयोग नभएपछि निरास भएकी मल्लले यसपाली बोर्ड सदस्य उठ्न मानिन् । तर उनले राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद बडाल र हालका अध्यक्ष मिनराज कँडेललाई आफू उठ्न वा देशबाट अरु कसैलाई उठाउनका लागि आग्रह गरेकी थिइन् ।

तर ओमदेवी मल्ल बाहेक जो उठेपनि हार्ने देखेपछि अध्यक्ष कँडेल पछी हटेका हुन् । यसअघि आइसिएको एसिया प्रशान्त क्षेत्रको बोर्ड सदस्यको लागि कँडेल निर्वाचित भएका थिए । जम्मा ११ सदस्य चाहिने सो बोर्डमा ११ औ नम्वरमा नै आफ्नो नाम (अन्तिममा) परेर बल्ल बल्ल जितेपछि उनी आइसिएको बोर्डमा जान हच्किएका हुन् ।

अध्यक्ष कडेँलका अनुसार आइसिएको बोर्डमा जान निक्कै मेहनत गनुपर्छ । भारतका आदित्यले यसपालीको चुनावका लागि मात्रै ४० वटा देश घुमेको उनको अनुभव छ । ‘नेपालबाट ओमदेवी जीले फेरी उठ्ने प्रयास गर्नुभएको भए जितिन्थ्यो तर उहाँले रहर गर्नु भएन अरुले नजित्ने पक्का भएपछि हामीले चासो पनि दिएनौ’। अध्यक्ष कडेँलले भने ।

नेपालबाट आइसिएको साधारणसभामा भाग लिनका लागि जम्बो टोली स्पेन पुगेको छ । सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, कृषि केन्द्रिय सहकारी संघ, सहकारी विकास बोर्ड लगायतका प्रतिनिधिहरु स्पेन पुगेका छन् । तर उनीहरु आइसिएको साधारणसभामा भाग लिन भन्दा पनि बढी घुम्नका लागि पुगेको पाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ