काठमाडौ– सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारत सरकारले ओमदेवी मल्ललाई सम्मान गरेको छ । सोमबार भारतको केन्द्रिय सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी संघले १०० औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मल्ललाई सहकारी क्षेत्रको अन्तराष्ट्रियस्तरमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । मल्ललाई भारतका केन्द्रिय गृहमन्त्री अमित शाहले सो सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा मत्स्य पालन तथा डेरी केद्रिय मन्त्री परशोत्तम रुपाला, केन्द्रिय सहकारी तथा उत्तरपुर्वी क्षेत्र विकास राज्यमन्त्री बी.एल.बर्मा, पुर्व केन्द्रिय मन्त्री सुरेश प्रभुअन्तराष्ट्रिय सहकारी संगठन एसिया प्यासिफिकका अध्यक्ष चन्द्रपाल सिंह यादव, सहकारी सचिव ज्ञानेश कुमार, भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ लिमिटेडका अध्इक्ष डा.विेन्द्र सिंह,राष्ट्रिय सहकारी संघका अध्यक्ष दिलीप संघाणी लगायतको उपस्थिति रहेको थियो ।
मल्लले नेशनल सेन्टर फर कोअपरेटिभ एजुकेसनबाट सहकारी शिक्षा र व्यस्थापनमा सन् २००५ मा डिप्लोमा गरेकी थिइन् भने उनी अन्तराष्ट्रिय सहकारी महासंघको एसिया क्षेत्रबाट नै ग्लोवल बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् । हाल उनी निवर्तमान ग्लोवल बोर्ड सदस्य हुन् ।
नेपालको मात्र नभएर अन्र्तराष्ट्रिय स्तरमा नै सहकारी क्षेत्रको प्रबद्र्धनमा लागेकोले उनलाई सम्मान गरिएको राष्ट्रिय सहकारी संघ भारतले जनाएको छ। उनी राष्ट्रिय सहकारी महासंघ नेपालकी उपाध्यक्ष हुन् । उनले सहकारी मार्फत महिला शशक्तिकरणमा ठूलो योगदान पुर्याएकी छिन् ।
प्रतिक्रिया