काठमाडौं । गत आवको चौथो त्रैमासमा ब्यवसाय प्रभावित भएपनि पहिलो, दोस्रो तथा तेस्रो त्रैमास गरेको ब्यवसाय विस्तारबाट बैंकहरुको नाफामा सकारात्मक प्रभाव देखिएको हो । बाणिज्य बैंकहरुले प्रकाशित गरेको लेखापरिक्षण नभएको वित्तीय विवरणमा नाफा २३ दशमलव १४ प्रतिशतले बृद्धि भएको छ । आव २०७७/०७८ मा ६० अर्व ७४ करोड ३८ रुपैयाँ खुद नाफा गरेका बैंकहरुले आव २०७८/०८९ मा भने ७४ अर्व ८० करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
केहि बैंकहरुको वित्तीय विवरण नकारात्मक भएपनि समग्र बैंकहरुको नाफा सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए । ‘केहि बैंकको मात्र नाफा घटेको छ, समग्रमा बैंकिङ उद्योगको नाफाको दर गत वर्ष भन्दा राम्रो देखिएको छ ।’गत आर्थिक वर्षमा बैंकहरुको नाफा २० प्रतिशतले बृद्धि भएको थियो ।
नेपालमा व्यापारीहरुले बैंकसँगको सम्बन्ध राम्रो बनाउनका लागि पनि आर्थिक वर्षको अन्त्यमा किस्ता तथा ब्याज रकम तिर्ने प्रचलनका कारण पनि बैंकहरुको वित्तीय विवरण राम्रो भएको उपाध्यायले बताए । ‘ब्यापारीहरु बैंकसँगको सम्बन्ध विगार्नु हुदैन, आर्थिक वर्षको अत्यमा सबै ड्युहरु चुक्ता गर्नुपर्छ भन्नेमा सचेत छन्’ उनले भने, ‘यो बानीका कारण पनि बैंकहरुलाई पोर्टफोलियो ब्यवस्थापनमा सजिलो भएको छ ।’
यसैगरी गत आवको चौथो त्रैमासमा बैंकहरुले लगानी बन्द गरी असुलीमा ध्यान दिएकाले पनि वित्तीय विवरणलाई सकारात्मक राख्न सजिलो भएको उपाध्यायको भनाई छ । बैंकहरुले ब्याज आम्दानी, जोखिम ब्यवस्था वापत रकम फिर्तालगायतका कारण नाफा बढेको उनले उल्लेख गरे ।
गत आवमा सबैभन्दा बढि नाफा राष्ट्रिय बाणिज्य बैंकले ५ अर्व २१ करोड रुपैयाँ रहेको छ । यसैगरी ग्लोबल आइएमईले ५ अर्व २० करोड, नविलले ४ अर्व ९७ करोड, एनआइसी एसियाले ४ अर्व ५२ करोड र नेपाल इन्भेष्टमेन्टले ४ अर्व ८ करोड नाफा गरेका छन् ।
सबैभन्दा कम नाफा सेन्चुरी बैंकले एक अर्व ३५ करोड छ । यस्तै सिभिलले एक अर्व ३८ करोड, लक्ष्मीले एक अर्व ६० करोड, नेपाल एसबीआइले एक अर्व ६३ करोड र बैंक अफ काठमाण्डूले एक अर्व ८१ करोड नाफा गरेको छ । कम नाफा गरेपनि सेन्चुरी र सिभिल बैंकको नाफा बृद्धिदर भने सबैभन्दा उच्च छ । अघिल्लो आवको तुलनामा गत आवमा सेन्चुरीको नाफा १६२ प्रतिशत तथा सिभिलको ११५ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी गत आवमा कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले नाफा घट्दा हिमालयन बैंकको १७ प्रतिशत तथा सानिमाको नाफा १ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया