काठमाडौ–सिभिल बैंकसँग मर्जका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको हिमालयन बैंकको गत आर्थिक बर्षको प्रगति त्यति राम्रो देखिएको छैन । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्षमा बैकको नाफामा नै १७.२२ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेष्टमेन्टसँग अन्तिम समयमा आएर मर्ज भाँडिएपछि बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको थियो । इनभेष्टमेन्ट बैंकसँगको मर्ज हिमालयन बैंकका कारण नै भाँडिएका समाचारहरु बाहिरिएपछि बैंकको रामे छवी नराम्रो भएको थियो । जसका कारण व्यवस्थापन पक्षले राम्रोसँग व्यवसायलाई विस्तार गर्न नसकेको बैंकले बताएको छ ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षमा २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा राम्र्रो पफर्मेन्स दिन नसक्नुमा व्यवसाय विस्तारको लागि अपर्याप्त बजारको अभाव, नीतिगत अस्थिरता, रेमिट्यान्सको आयममा कमी, बजारमा घाँटी नै रेटिने (कट् थ्रो) प्रतिष्पर्धा, लागतमा बृद्धि, लगायतका कारण नाफामा सोचेजस्तो सफलता हासिल गर्न नसकेको जनाएको छ । त्यस्तै स्प्रेडदर, प्रत्यक्ष लगानी, पुँजी पर्याप्तता, सिडि रेसिया, व्याजदर बेसरेटमा नियमनकारी निकाय हावी हुदा पनि बैंले नाफा कमाउन नसकेको बैंकले स्पष्ट पारेको छ ।
त्यस्तै बैंकले गत आर्थिक बर्षको नाफा र रिजर्भबाट आएको रकमबाट २०.६२ प्रतिशत लाभांस दिन सक्ने अवस्था देखिएको छ । बैंकको वित्तिय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ । बैंकका अनुसार रेगुलेटरी रिजर्भबाट ९ करोड ८९ लाख ७५ हजार फिर्ता आएको छ भने प्रोभिजिनिङ गरेको रकमपनि उठेपछि बैंकको वितरणयोग्य नाफा बढेको हो ।
अघिल्लो आर्थिक बर्षमा बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी २६ प्रतिशत लाभांस दएको थियो । बैंकको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरी साधारणसभाले पास गरी नेपाल राष्ट्र बैंकले वितरणको अनुमति दिएपछि सो लाभांस लगानीकर्ताहरुले पाउनेछन् । अघिल्लो आर्थिक बर्षमा बैंकले नगद लाभांसमा कडाइ गरेपनि चालु आर्थिक बर्षमा नगद लाभांस दिन बैंकहरुलाई खुल्ला गरेको हुनाले यसपाली हिमालयन बैंकले नगद लाभांसमा नै जोड दिने देखिएको छ ।
त्यस्तै बैंकको खुद व्याज आम्दानी बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी ३ अर्ब ७८ करोड थियो । त्यसैगरी गत आर्थिक बर्षमा बैंकको व्याज आम्दानी बढेर १६ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी १० अर्ब ३७ करोड रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक बाषर््मा फि र कमिसनबाट बैंकले खुद ९१ करोड ४९ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो कमाइ ६९ करोड ८१ लाख रुपैयाँ मात्र थियो । खुद संचालन नाफातर्फ बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ, जुन अघिल्लो आर्थिक बर्षमा यस्तोमा नाफा ७ अर्ब २२ करोड रुपैयाँ मात्र कमाएको थियो ।
त्यस्तै गत आर्थिक बर्षमा बैंकले १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ कर तिरेको छ । खुद नाफामा आएको गिरावटसँगै करमा पनि गिरावट आएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकले १ अर्ब २७ करोड रुपैयाँ कर तिरेको जनाएको छ । त्यस्तैगरी बैंकको खराव कर्जा थोरै बढेको छ । गत आर्थिक बर्षमा बैंकको खराव कर्जा ०.७७ प्रतिशत पुगेको छ । जवकी अघिल्लो आर्थिक बर्षमा बैंकको खरावकर्जा ०.४८ मात्र रहेको थियो । त्यस्तैगरी बैंकको प्रोभिजनिङ भने १५२.२२ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा बैंकले २४२.७२ प्रतिशत मात्र प्रोभिजनका लागि छुट्याएको छ, जवकी अघिल्लो आर्थिक बर्षमा ३९४.९४ प्रतिशतले बढेको थियो ।
त्यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको लागत भने झन्डै दोव्वरले बढेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको लागत ४.६१ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा बढेर ८ प्रतिशत पुगेको बैंकले जनाएको छ । लागतका कारण पनि नाफामा कमी आएको बैंकको दावी छ ।
त्यस्तै बेस रेट पनि बढेर ९.८८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा बैंकको बेस रेट ६.७४ प्रतिशत रहेको थियो । त्यस्तै स्प्रेड रेक पनि बढेर ४ प्रतिशत पुगेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसा रहेको छ । बैंकको लिक्विडिटि रेसियो २३.४८ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बाणिज्य बैंकको लिम्वीडीटी रेसियो २० प्रतिशत भन्दा कम हुन हुदैन । बैंकसँग जतिधेरै लिक्विडीटी हुन्छ त्यति नै बैंक कर्जा प्रबाहका लागि सक्षम देखिन्छ । त्यस्तै बैकको सिडी (कर्जा निक्षेप अनुपात) रेसियो पनि ८८.८० पुगेको छ । यसबाट बैंकसँग थप कर्जा प्रबाह गर्ने क्षमता छैन भन्ने बुझिन्छ ।
हालसम्म राष्ट्र बैंकले सिडिमा निक्षेप र डिभेन्चरलाई पनि मिसाउन दिएकोले सो बैंक सहज अवस्था देखिएको हो । यदी डिभेन्चर र्ला सिडिमा गणना गर्न नदिने हो भने अव बैंकसँग कर्जा प्रबाहका लागि रकम छैन भन्दा हुन्छ । राष्ट्र बैंकका अनुसार सिडि रेसियो अनिवार्य रुपमा ८० हुनुपर्छ । अघिल्लो आर्थिक बर्षमा बैंकको सिसिडि ८५.७४ प्रतिशत रहेको थियो । गत आर्थिक बर्षबाट मात्र राष्ट्र बैंकले सिडि रेसियो लागु गरेको हो ।
बैंकसँग हाल निक्षेप १ खर्ब ६८ अर्ब ४१ करोड रहेको छ भने १ खर्ब ४७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यस्तो निक्षेप तथा कर्जा अघिल्लो आर्थिक बर्षमा क्रमशः १ खर्ब ४१ अर्ब १ खर्ब २६अर्ब रुपैयाँ रहेको थियो ।
त्यस्तै बैंकको सेयरपुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ छ भने बैंकको रिजर्भ ६ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकको रिजर्भ अघिल्लो आर्थिक बार्षभन्दा कम छ । अघिल्लो बर्ष बैंकसँग रिजर्भ ६ अर्ब ५१ करोड रुपैयाँ रिजर्भ रहेको थियो ।
बैंकको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकले कर्मचारी तालिम कोषमा एक रुपैयाँ पनि छुट्याएको छैन । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कुनैपनि बाणिज्य बैंकले आफ्नो खुद नाफाको ३ प्रतिशत अर्थात् हिमालयन बैंकको हकमा करिव ७ करोड ३८ लाख रुपैयाँ कर्मचारीको तालिमको लागि छुट्याउनुपर्ने थियो । तर सो बैंकले भने छुट्याएको छैन । बैंकको नाफा घट्ने भएकोले तालिमको लागि रकम नछुट्याएको बैंकको भनाई रहेको छ ।
त्यस्तै बैंकले आफ्नो के के कमजोरीहरु रहे भनेर पनि जानकारी दिएको छ । बैंकका अनुसार नाफा कमाउनका लागि बैंकले आगामी दिनमा थप मेहनत गर्नु पर्ने देखिएको छ । बैंकले आगामी दिनमा आवश्यकता अनुसारको विशिष्ट सेवा प्रदान गर्ने, नयाँ प्रोडक्ट र सेवा लन्च गर्न, नेटवर्कलाई थप मजवुत बनाएर नयाँ÷नयाँ विजनेश खोज्नका लागि लागिरहने पनि प्रतिवद्धता जनाएको छ । त्यस्तै बैंकले बैकिङ क्षेत्रमा पछिल्लो समयमा खरावकर्जाको व्यवस्थापन गर्न निक्कै कठिन भएको स्पष्ट धारणा राखेको छ ।
प्रतिक्रिया