काठमाडौं । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंकहरुमा आएको तरलता अभावको असर सहकारी क्षेत्रमा पनि परेकोले अहिलेको समस्या देखिएको बताएकी छिन् । उनले पछिल्लो समयमा बैंकहरु निक्षेप तान्नका लागि बैंकहरुले १० गुणासम्म बढ्ने जस्ता योजना सार्वजनिक गरिरहेका छन् ।
बचत योजनाका कारण जनताको रकम सहकारीबाट बैंकमा गएका कारण सहकारीमा रकमको अभाव भएको बताएकी हुन् ।‘मेरो स्मरण भएसम्म बैंकहरुले अहिलेसम्म यस्ता मुद्दति योजना ल्याएका थिएनन् । जसले सहकारी क्षेत्रमा पनि तरलता समस्या उत्पन्न भएको हो ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले भनिन्, ‘१० गुणासम्म बढ्ने २१ वर्षे बचत योजना ल्याएपछि सहकारीको पैसा बैकतिर गएकाले तरलताको अभाव भएको छ ।’
विश्वमै आएको आर्थिक संकटका असरका कारण सहकारीमा पनि तरलता अभाव भएको भन्दै मल्लले यसबाट सहकारीलाई सुधारको मौका आएको पनि दावी गरिन् । ‘अब सहकारी सुधिर्नुपर्छ, संकटले सहकारी अभियानमा सुधिर्ने मौका मिलेको छ’ उनले भनिन् ।
पछिल्लो समयमा सहकारीमा समस्या आएसँगै एकीकरणको माहोल सिर्जना भएको र यसबाट सकारात्मक सन्देश प्रवाह भएको उनले दावी गरिन् । मल्लले सहकारीका सदस्यहरुले अधिकार र कर्तव्य पालना नगरेको बताइन् । सहकारीहरु स्वनियमन र स्वअनुशासनमा चल्ने भएपनि सदस्यले आफ्नो जिम्मेवारी निर्वाह नगर्दा समस्या सिर्जना भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल नेपाल बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो समय केही सहकारीमा समस्या आएकोले सबै मिलेर त्यस्ता समस्या नआउने वातावरण सिर्जना गर्नु पर्ने धारणा राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनुपर्ने जोड दिए ।
प्रतिक्रिया