काठमाडौ–सहकारी विभागले ठूला सहकारीहरुको तीनपुस्ते विवरण माग गरेको छ । पछिल्लो समय सहकारीमा समस्या देखिएपछि संस्थाका संचालक तथा प्रमूख कार्यकारी अधिकृत (सिइओ) भाग्ने डरले विभागले अहिले नै तीनपुस्ते विवरण मगाएको हो ।
अधिकांश सहकारीहरु बचत फिर्ता दिन नसकी संस्था नै बन्द गरेर हिडिरहेका बेलामा संचालक र सिइओ भाग्ने र उनीहरुको विवरण जानकारी नपाइने हुदा जग्गा रोक्का वा प्रहरीलाई पक्राउका लागि पक्राउपुर्जी जारी गर्नका लागि आग्रह गर्न समेन नसकिने भएकोले ठूला कारोबार गर्ने सहकारीहरुको तीनपुस्ते मगाएको विभागले जनाएको छ । विभागले आफ्नो कार्यक्षेत्रभित्र रहेका १२२ वटै सहकारी संस्थाहरुको तीनपुस्ते विवरण माग गरेको हो ।
आइतबार सहकारी पत्रकार समाज (सिजेएन) को १२ औ बार्षिकोत्सवको अवसरमा बोल्दै विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले तीनपुस्ते विवरण मगाएका अधिकांश सहकारीको विवरण आइसकेको जानकारी दिए । त्यस्तै उनले विभागले गरेको अध्ययनमा कतिपय सहकारीहरुको तरलता शुन्य रहेको पाइएको र कतिपयको भने ४० प्रतिशत भन्दा पनि माथि रहेको पाइएको जानकारी दिए ।
त्यस्तै उनले सहकारी विभागले मर्जरका सम्बन्धमा केही प्रावधानहरु राखेर निर्देशन जारी गर्ने तयारी गरीरहेको छ पनि जानकारी दिए । ‘पछिल्लो समयमा सहकारीहरु एक आपसमा मर्ज भइरहेका छन् तर उनीहरुले मर्ज भएको तीनदिनभित्र विभागलाई जानकारी दिनुपर्ने थियो तर त्यो गरिरहेका छैनन् त्यस्तै संचालक समिति पनि समावेशी देखिदैन त्यसैले एकदुई दिनभित्रमा नै सहकारीलाई मर्ज सम्बन्धी निर्देशन दिने तयारी गरिरहेको छ ।’ रजिष्टार पण्डितले भने ।
त्यस्तै उनले अव सहकारी संस्थाहरुको नियमन पनि कारोबार रकमको आधारमा छुट्याइने जानकारी दिए । हाल भुगोलको आधारमा सहकारी संस्थाहरुले कार्यक्षेत्र निर्धारण गरी सोही आधारमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्दै आएको छ । तर अव भने संस्थाहरुको कारोबारको आधारमा विभागले नियमन गर्ने तयारी भइरहेको रजिष्ट्रार पण्डितले जानकारी दिए । ‘त्यसका लागि विभागले नियमावली संशोधनको प्रस्ताव पेश गरीसकेको पनि उनको दावी रहेको छ ।
पण्डितकाअनुसार कार्यक्षेत्रका आधारमा नियमन गर्दा प्रभावकारी नियमन हुन नसकेकाले कारोबारको आधारमा नियमन गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया