काठमाडौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले शुक्रबार धुलिखेलबाट सहकारी क्षेत्रको समस्या विस्तारै कम हुदै जाने बताए । महासंघको सो भनाई झुट भएको प्रारम्भिक सहकारीका एक अध्यक्षले अर्थटुडेसँग बताएका छन् । ति अध्यक्षका अनुसार चुनावपछि सहकारी क्षेत्रमा झन् ठूलो समस्या सिर्जना हुने दावी गरे ।
उनले भने, ‘गत साउनदेखि नै काठमाडौमा संचालित वित्तिय सहकारीहरु समस्यामा परिरहेका छन्। कतिपयले मर्जमा गएमा समस्या समाधान हुने आशामा धेरैवटा सहकारीसँग मर्ज पनि नगरेका होइनन् । तर समस्या झन् गहिरिदै गएको छ । कतिपय सहकारीले काउन्टर नै बन्द गरेर बसेका छन् ।’
सहकारीले भोगिरहेको समस्यालाई नेताहरुले निक्कै हल्कामा लिएर समस्या समाधानतर्फ नलाग्ने हो भने समस्याहरु झन् गहिरिदै जाने ति अध्यक्षले बताए । सहकारीका समस्याहरु समाधानका लागि सरकारसँग पहल गरिदिनुपर्ने, महासंघ र सहकारी विभागले संयुक्त रुपमा सहकारीको अपनत्व लिइ निक्षेप फिर्ताको लागि सहकारी अभियानले जिम्वेवारी लिनुपर्ने, सदस्यहरुमा विश्वासको वातावरण बनाउनका लागि पहल गर्नुपर्ने लगायतका थुप्रै मागहरु राखी गत विहिबार आन्दोलन नै गरेका थिए ।
तर जिल्ला सहकारीसंघ काठमाडौ र विभिन्न विषयगत जिल्ला संघहरुले आफूहरुले समस्या समाधान गर्ने भन्दै आन्दोलनलाई निरन्तरता नदिन आग्रह गरे । सोही आग्रहलाई मान्दै सहकारी संस्थाहरुले संघविरिुद्ध आन्दोलन हालका लागि स्थागित गरेको आन्दोलनका संयोजक संकटा बचत तथा ऋण सहकारी संस्थाका महाप्रबन्धक विन्देश्वर श्रेष्ठले जानकारी दिए ।
सहकारीमा देखिएको समस्या बैंक तथा वित्तिय संस्थाको व्याजदर बृद्धि
मिनराज कडेँल
राष्ट्रिय सहकारी महासंघ
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अहिलेको समस्या आयातित भएको र विस्तारै सामान्य हुदै जाने हल्का टिप्पणी गर्दछन् । उनी बैंक तथा वित्तिय संस्थाले धेरै व्याज बढाएर सहकारीको निक्षेप तानेकोले अहिलेको समस्या आएको उनको दावी छ ।
तर उनले सो समस्या आउन नदिनका लागि महासंघले के कस्ता रणनीतिहरु अपनायो भन्नेबारेमा भने केही बोलेनन् । उनले सहकारीहरुको अध्ययन अनुगमन गरी आएको प्रतिवेदनका आधारमा कदम चाल्ने पनि बताए ।
तर अहिलेसम्म महासंघले कतिवटा सहकारीको अध्ययन अनुसन्धान गरी कारबाहीको लागि सहकारी विभागमा लेखेर पठाए भन्ने विषयमा केही बोलेनन् ।
उनले पछिल्लो समयमा देखिएको समस्याको समाधानका लागि महासंघले छलफल गरिरहेको जानकारी दिदै महासंघले सहजीकरण गरिरहेको दावी गरे ।
सहकारीलाई पनि राज्यले निजी क्षेत्र सरह महत्व दिनुपर्छ
केवी उप्रेति
अध्यक्ष राष्ट्रिय सहकारी बैक
त्यस्तै राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेतिले सदस्यहरुको सहकारीहरुप्रति विश्वासको कमीका कारण अहिलेको समस्या देखा परेकोले उनीहरुको विश्वास फर्काउने खालको क्रियाकलाप महासंघ लगायत नियामक निकायले गर्नुपर्ने धारणा राखे ।
‘सहकारी सदस्यकेन्द्रित भएकोले पनि उनीहरु निक्षेपकर्ता होइनन् उनीहरु पनि लगानीकर्ता नै हुन् भन्ने कुरा उनीहरु माझ स्पष्ट रुपमा सहकारी संस्थाले राख्न सक्नुपर्छ ।’ उनले भने । उनका अनुसार पछिल्लो समयमा बहानाबाझी गरेर सदस्यहरुले सहकारीबाट बचत फिर्ता लिइरहेका छन् । जसका कारण सहकारीहरु समस्यामा परेका छन् । त्यसैले संस्थाहरुले आफ्ना सदस्यहरुलाई बुझाउनु जरुरी छ ।
त्यस्तै उप्रेतिले संस्थाहरु सुसासनमा भएका र आउन सुरु गरेकाहरुको हकमा महासंघ र विभागले त्यस्ता सहकारीको जिम्मा लिनुपर्ने बताए । त्यस्तै उनले सहकारी क्षेत्रमा निक्षेप भित्र्याउनका लागि व्याजदरमा बृद्धि गर्नुपर्छ यसका लागि मन्त्रीपरिषद्को समेत ध्यान जानु जरुरी रहेको बताए ।
हाल सहकारीमा सन्दर्भ व्याजदर लागु भएको छ । जसका कारण १६ प्रतिशतभन्दा बढी कर्जामा व्याज लिन नपाउने व्यवस्था छ । जुन सहकारीमा निक्षेप नआउनुको मुख्य कारण रहेको सहकारी अभियानका नेताहरुको भनाई छ । उप्रेति सहकारीको व्याजदर बढाउनुपर्ने अडान राख्छन् । त्यस्तै उनी सहकारी क्षेत्रमा भइरहेको समस्या समाधानका लागि नेपाललाई भारतले दिएको ५० अर्ब रुपैयाँ बराबरको हाल आइडल बसेको र सोही रकम सहकारीलाई दिन सकिने धारणा राख्छन् । उनी भन्छन् ‘भारतले दिएको ५० अर्ब रुपैयाँ बराबरको सहयोग रकम अहिले आइडल बसीरहको त, त्यो सरकारले सहकारीलाई प्रयोग गर्न दिनुपर्छ फिर्ताको ग्यारेन्टी सहकारी अभियानले लिन्छ ।’
त्यस्तै उनले सहकारी बैंकले समस्यामा परेका सहकारीहरुको उद्धारका लागि ३ अर्ब रुपैयाँ छुट्याएको र सो रकम पनि सकिसकेको बताए । त्यस्तै उनले ५१ प्रतिशत भन्दा बढी कारोबार बैंकमा गरिरहेका तर बजारमा सहकारीप्रतिको ट्रष्ट गुम्दा भएको समस्याका कारण ५ प्रतिशतभन्दा कम तरलता भएका सहकारीहरुको अवस्था हेरेर पनि सकेको कर्जा दिइरहेको जानकारी दिए ।
त्यस्तै अहिलेको सहकारीको समस्या समाधानका लागि दोस्रो तहको नियामक निकाय गठन गरेर अगाडी बढ्नुपर्ने उनको तर्क रहेको छ । उनले आफूले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँल र रजिष्टार रुद्रप्रसाद पण्डितलाई भेटेर तत्काल सहकारीको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । उनका अनुसार सहकारी क्षेत्र पनि निजी क्षेत्र बराबरको महत्वको भएकोले राज्यले पनि सोही अनुसार सहकारीलाई प्राथमिकता दिनुपर्छ ।
व्याजदर निर्धारणमा सरकारले अंकुश लगाउन थालेपछि सहकारी समस्यामा गएको हो
परितोष पौडेल
अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)का अध्यक्ष परितोष पौडेले सहकारी क्षेत्रमा भएको आन्दोलनबारे नेफस्कुनलाई कुनै जानकारी नभएको दाबी गर्छन्। उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देखापरेको समस्याले सिंगो सहकारी अभियानलाई चपेटामा पारेको बताउँदै आइरहेका छन्।
सहकारी भनेको समुदायमा आधारित संस्था हो, यसलाई कसरी बाह्य क्षेत्रले असर पार्छ भन्ने प्रश्नको भने उनले गोलमटोल जवाफ दिए। पौडेलले अहिलेको सहकारी आन्दोलन राज्यले उत्तरदायित्व लिन नसकेको विषय भएकाले पहलकदमी हुनुपर्छ भने गरिएको जागरण अभियान मात्र होला भनेर अर्थ्याए।
त्यस्तै उनले सहकारीको समस्या समाधानका लागि व्याजदर स्वचालित हुनुपर्ने, ऋण असुली न्यायधिकरण र प्रबद्र्धन कोष कार्यान्वयन गर्नुपर्ने बताए । त्यस्तै उनले सहकारीका समस्या समाधानका लागि सहकारी नियमावलीमा संशोधन गर्नुपर्ने धारणा राखे । तर कुनकुन बुदा संशोधन हुनुपर्छ ? भन्नेबारे बोल्न चाहेनन् ।
उनले मूल्य निर्धारणको विषय संस्थाको स्वनियमको विषय भएको र उसले आफैले व्याजदर निर्धारण गर्नुपने धारणा राखे । व्याजदर निर्धारणमा सरकारले अंकुश लगाउन थालेपछि सहकारी समस्यामा गएको उनको तर्क छ ।
प्रतिक्रिया