काठमाडौं–कालिन्चोक केवलकार संचालन गरिरहेको कालिन्चोक दर्शन लिमिटेडले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उनीहरुलाई आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले यही मंसिर १४ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। जुन जारी पुँजी ६० करोडको २० प्रतिशत हुन आउछ ।
कम्पनीका अनुसार १२ लाख कित्तामध्ये १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ भने १० करोड ८० लाख रुपैयाँ अर्थात १० लाख ८० हजार कित्ता सर्वसाधरणलाई छुट्याएको छ । सर्वसाधरणलाई छुट्याइएको सेयरको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो चरणको आइपीओको अन्तिम मिति मंसिर २८ राखेको छ । यद्यपि, पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्याउन सकिने कम्पनीले जनाएको छ ।
बैदेशिक रोजगारमा गएका लागि छु्याएको सेयरमा आवेदन दिंदा रेमिट्यान्स बचत खाता मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ । । सेयर आवेदन दिने खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । आइपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिइ विदेशमा बसेर काम गर्नेले मात्र भर्न पाउने छन् ।
प्रतिक्रिया