काठमाडौं । चार बस्तुको आयातमा लाग्दै आएको प्रतिवबन्ध फुकुवा भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले चार बस्तुको आयातमा लाग्दै आएको प्रतिबन्ध पुर्ण रुपमा हटाउने निर्णय गरेको हो । सरकारले बैशाख १३ गते गाडी, मदिरा, मोबाइल र १५० सिसि भन्दा माथिको मोटरसाइकलको आयात प्रतिबन्ध गर्दै आएको थियो । मन्त्रीपरिषद्को बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बढुले मंगलबार बसेको बैठकमा आयात प्रतिबन्ध हटाउने प्रस्ताव गरेका थिए । त्यसैले मन्त्रीपरिषद्ले उद्योग मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले नेपालसमयलाई जानकारी दिए ।
आयात प्रतिबन्ध हटाउन यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । तर नेपाल राष्ट्र बैंकले भने केही समय आयात प्रतिवन्ध फुकुवा गर्न नहुने राय पेश गरेको थियो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ ।
विदेशी विनिमय संचिति घट्ने तथा शोधनान्तरमा दवाव बढ्न थालेपनि सरकारले १० प्रकारको आयात प्रतिबन्ध लगाएको थियो । गत भदौमा भने ६ प्रकारका बस्तुहरुको आयात फुकुवा गरिएको थियो ।
सरकारको निर्णयपछि अब १ पुस एकदेखि यी वस्तुहरु आयात गर्न पाइने छ
प्रतिक्रिया