काठमाडौ–चालु आर्थिक बर्षको पहिलो चार महिनामा शोधनान्तर २० अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोड डलरले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाख डलरले बचतमा रहेको छ ।
विहिबार नेपाल राष्ट्र बैंकले जारी गरेको देशको बर्तमान आर्थिक स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको चार महिनामा विदेशी विनिमय संचिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले बृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा देशमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ विदेशी विनिमय संचिति रहेको थियो । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै चालु आर्थिक बर्षको पहिलो चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी नेपालमा गत चार महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी जम्मा ४३ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको थियो ।
प्रतिक्रिया