वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकमा चुनावी रौनक, यी हुन् अध्यक्ष उप्रेतीले खुल्ला संचालकमा देख्न चाहेका चार अनुहार

अर्थटुडे
२०७९ पुष १३, बुधबार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको चुनावी चर्चाले यतिवेला सहकारी क्षेत्र तातेको छ । एकातिर सहकारीमा देखिएको समस्याले सहकारीकर्मीलाई तनाव छ, भने अर्कोतर्फ सहकारी संस्थाहरुको एक मात्र बैकिङ कारोबार गर्ने संस्था सहकारी बैंकको चुनावी सरगर्मीले बजार तताएको छ ।

बैंकको अध्यक्षमा केवी उप्रेती सहित संचालक र लेखा समिति संयोजक गरी ११ जना सर्वसम्मत भइसकेका छन् । बाँकी ७ वटा पदको लागि भने चुनावी भिडन्त हुने भएको छ । सबै पदमा गरी २४ जना चुनावी मैदानमा भएपनि प्रबन्ध संचालकदेखि अध्यक्ष भएका उप्रेतीले चाहेको व्यक्ति नै बैंकमा चुनिने पक्का छ ।

जसरी नेकपा एमालेमा सरकारमा जाने नजानेदेखि कसलाई कुन स्थान दिनेसम्मको निर्णय अध्यक्ष केपी शर्मा ओलीले गर्ने गरेका छन् त्यस्तै राष्ट्रिय सहकारी बैंकमा को संचालक हुने भन्ने निर्णय के.बी उप्रेतीको हातमा रहेको सहकारीकर्मीहरू बताउछन् ।  पार्टीगत भागवण्डाको आधारमा उम्मेदवार उठेपनि उप्रेतीले नचाहेका व्यक्ति कुनैपनि हालतमा बैंकमा संचालक हुने सम्भावना छैन ।

बैंकको संचालक समिति सर्वसम्मत गर्ने भन्दै प्रमुख राजनीतिक दलहरु बीच सिट बाँडफाँड गरिएको थियो । जसमध्ये नेकपा एमालेलाई अध्यक्षसहित ८, कांग्रेसलाई ५, माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादी एक पद विभाजन गरिएको थियो ।

तर अर्को बैंक खोल्न लागिपरेका नेपाली कांग्रेस निकट सहकारीकर्मीहरुले अर्को बैंक खोल्न नसकेपछि राष्ट्रिय सहकारी बैंकमा नै भाग खोस्न आइपुगे । जसका कारण नेपाली कांग्रेस निकट सहकारी संस्थाका सदस्यहरु विच नै प्रतिष्पर्धा भयो र खुल्ला ४ सदस्यको लागि १६ जनाको निवेदन परेको छ ।

खुल्ला संचालकको लागि १६ जना आवेदक मध्ये १२ जना नेपाली कांग्रेस निकट छन् । अझ रमाइलो पक्ष के भने नेपाल सहकारी बैंक स्थापना गर्ने भन्दै प्रस्तावित बैंकको संचालक समेत रहेका माधव दुलालले समेत राष्ट्रिय सहकारी बैंकको खुल्ला संचालक पदमा उमेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि पठाउनेगरी पार्टीका विभागीय प्रमूख् आनन्द ढुंगाना र सचिव सुरेन्द्र भण्डारीले नाम दिन नसकेपछि कांग्रेस निकट सहकारी संस्थाबाट विभिन्न आकांक्षीले उमेदवारी दिएका हुन् ।

सहकारी बैंकका अनुसार खुल्ला संचालकमा डा.जीवनकुमार श्रेष्ठ, ध्रुव नारायण यादव, केदार मानन्धर, माधवलाल देवकोटा, धु्रवराज विष्ट, मनोजकुमार थापा मगर, स्वयम्भु नाथ यादव, बाबुराम घिमिरे, निरन्जन सुवेदी, राजेन्द्र प्रसाद रिजाल, भरतप्रसाद दवाडी,टिकाराम चालिसे,नवराज न्यौपाने,मनोज भण्डारी,हरीबहादुर खड्का र माधव दुलाल रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशबाट एक जना संचालकको लागि दुई जना कालीबहादुर महतरा र विशाल के.सीको उमेदवारी परेको छ । लेखा समिति सदस्य एक जनाको लागि चार जना भवानी प्रसाद दंगाल, केशवप्रसाद सापकोटा, महेश कुमार आचार्य र गणेश बहादुर चन्दको उमेदवारी परेको छ भने एक जना महिना सदस्यको लागि कृष्णा कुमारी बंशी (थापा) र चन्द्र कुमारी पराजुलीको उमेदवारी परेको छ ।

खुल्ला संचालकको लागि भने अध्यक्ष उप्रेतीको रोजाइमा मनोजकुमार थापा मगर, केदार मानन्धर, माधवलाल देवकोटा र ध्रुवराज विष्ट रहेको छ । यी चारजनामध्ये दुई जना नेपाली कांग्रेस, एकजना माओवादी केन्द्र र एक नेकपा एस पार्टी निकट छन् ।

त्यस्तै उप्रेतीले लेखा समिति सदस्यमा भने गणेश बहादुर चन्दलाई ल्याउन खोजेका छन् । उनी माओवादी केन्द्रको कोटाबाट ल्याउन खोजीएको हो । आगामी १६ गते चार खुल्ला सदस्य, एक महिला लेखा समिति सदस्य, एक लेखा समिति सदस्य खुल्ला र एकजना कर्णाली प्रदेश संचालकको लागि निर्वाचन हुने छ । बैंकको सातै प्रदेशमा हुने इकाइ सभामा मतदान हुनेछ ।

हाल राष्ट्रिय सहकारी बैंकमा २०७९ मंसिर ९ गतेसम्म जम्मा १५ हजार ७२६ सदस्यहरु रहेको र उनीहरुले नै मतदान गर्न पाउने छन् । पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ